सम्पर्कविहीन रहेको चौतीस सदस्यीय टोली सात दिनपछि घरमा

इनेप्लिज २०७२ वैशाख १८ गते ९:१८ मा प्रकाशित

दमौली, १८ वैशाख । तनहुँको ब्यास नगर पालिका–२ स्थित सर्वकल्याण सहकारी संस्थाका अध्यक्ष दीपक सिग्देलको नेतृत्वमा काभ्रेको बनेपामा रहेका नमुना सहकारीको अवलोकन गर्न वैशाख ११ गते पुगेको भ्रमण टोलीका ३४ जना सदस्य सम्पर्कविहीन भएको सात दिनपछि सकुशल घर फर्केका छन् ।

उनीहरु शुक्रबार बिहान घर आइपुगेका हुन् । महाभूकम्पमा सात दिनसम्म फसेर शुक्रबार घर आइपुगेकी संस्थाकी उपाध्यक्ष सुनिता पौडेलले पुर्नजन्म पाएको बताउनुभयो ।

भूकम्प जाँदा भाग्ने क्रममा घुँडा, आँखा र हातमा चोट लागेर घाइते भएकी पौडेलले नेपाली सेनाको हेलिकप्टरले आफूसहित पाँच जनालाई काठमाडौँ विमानस्थलमा ल्याइदिएको बताउनुभयो । टोलीमा रहेका अन्य २९ जना भने हिँडेर बाह्रबिसे आई गाडी चढेर काठमाडौँ आइपुगेका थिए । भ्रमण सकेर खासा घुम्न गएका उनीहरु फर्कने क्रममा भूकम्पमा परी छ दिनसम्म सम्पर्कविहीन भएका थिए । टोलीमै रहेका लालप्रसाद भट्टराईले पनि आफूहरु बाँचेर घर फर्कौला भन्ने नसोचेको बताउनुभयो ।

खासाबाट उनीहरु सशस्त्र प्रहरीको चौकी डाँडामा आए पनि मोबाइलले काम नगरेकाले लामो समय सम्पर्कविहीन हुनुपरेको थियो । लामो समय सम्पर्कविहीन भएका संस्थाका व्यवस्थापक, चन्द्रकला वाग्ले तथा सँगै गएका तनहुँका नलबहादुर दरै, पुष्प श्रेष्ठ, श्रीभद्र कँडेललगायतका व्यक्ति सकुशल घर फिर्ता भएपछि उनीहरुको परिवारजनमा खुसीयाली छाएको नेपाली काँग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेलले बताउनुभयो ।

प्रतिक्रिया