घाइते तीन जनालाई रु दश हजारका दरले सहयोग

इनेप्लिज २०७२ वैशाख १८ गते ९:१५ मा प्रकाशित

गोलबजार (सिरहा), १८ वैशाख । जिल्ला दैवीप्रकोप उद्धार समिति सिरहाले शनिबार आएको भूकम्पले गम्भीर घाइते भएका दुई बालबालिका र एक वृद्धलाई उपचारका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

घाइतेको उपचारका लागि रु १०/१० हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको समितिका सदस्य रहेका सभासद् तथा काँग्रेस सिरहा सभापति सीतादेवी यादवले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते तीनै जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

भूकम्पमा भाग्ने क्रममा लडेर माडर–१६ का ७० वर्षीया अमिना खातुन, भोक्राहा–४ का राजदेव साहकी सात वर्षीया छोरी अञ्जली र सोही ठाउँका सञ्जीव साहको आठ वर्षीय छोरा साजन घाइते भएका छन् ।

भूकम्प आएको समयमा भाग्ने क्रममा खातुनको घरको पर्खाल जिउमाथि खसेको र सँगै खेल्दै गरेका अञ्जली र साजनको जिउमाथि पनि पर्खाल खसेर गम्भीर घाइते भएको हुन् । खातुनको खुट्टा तथा दुवै बालबालिकाको कम्मर भाँच्चिएको छ ।

प्रतिक्रिया