राहत वितरण तीव्र गतिमा

इनेप्लिज २०७२ वैशाख १७ गते १३:२३ मा प्रकाशित

Lamjung-Ghaite-7ललितपुर, १७ वैशाख । शनिबार गएको विनासकारी भूकम्पबाट पीडितलाई राहत सामग्री वितरण गर्ने कार्यलाई तीव्ररुपमा अगाडि बढाइएको जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ ।

उक्त भूकम्पका कारण हजारौँ सङ्ख्यामा विस्थापित भएका छन् भने सयौँको हाराहारीमा मानवीय क्षति भएको छ । विशेष गरी जिल्लाको दक्षिणी भेगमा पर्ने १९ गाविस अत्यधिक मात्रामा प्रभावित भएका छन् ।

सो क्षेत्रमा पर्ने माल्टा, शङ्खु, प्युटार, आश्राङ, गिम्दी, कालेश्वर, घुसेल, भट्टेडाँडा, बुखेल, इकुडोल, चन्दनपुर, गोटीखेल, मानिखेल, नल्लु, चौघरे, भारदेउलगायतका गाविसमा अवस्थित ९० प्रतिशत घर पूर्णरुपमा भूकम्पबाट क्षति भएका छन् । उक्त भेगका बासिन्दा पालमा त कोही खुला आकाशमुनि रात बिताउन बाध्य भएको खबर प्राप्त भइरहेका छन् ।

अति प्रभावित दक्षिणी भेगमा गाविसहरुमा वस्नको लागि समस्या हुँदाहुँदै वाँच्नको लागि खाद्यान्नको अभाव समेत खड्किएको छ ।

राहत वितरण कार्यलाई निरन्तरता दिंदै आजवाट थप खाद्यान्न पठाउन शुरु गरिएको प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोइरालाले वताउनुभयो । जिल्लाको दक्षिणी भेगमा पर्ने प्युटार, आश्राङ र गिम्दी गाविसका लागि थप राहत स्वरुप एकसय वोरा चामल पठाईएको प्रमुख जिल्ला अधिकारी कोइरालाले उल्लेख गर्नु भयो । यसै गरी मानिखेल, शङ्खु, इकुडोल, वुखेल, चन्दनपुर, माल्टा, चौघरे, घुसेल, देवीचौर, भट्टेडांडालगायतका गाविसहरुमा ५०÷५० बोराका दरले चामल पठाइएको छ ।

यसबाहेक काँठक्षेत्रमा प्रभावित चापागाउँ, छम्पी, गोदावरी, लेले गाविसलगायतका स्थानमा समेत खाद्यान्नलगायत अन्य बन्दोवस्तीको सामान पठाउन सुरु गरिसकेको प्रमुख जिल्ला अधिकारी कोइरालाले बताउनुभयो । उपमहानगरपालिकाभित्र समेत राहत वितरण कार्यलाई तीव्र बनाइएको छ ।

चापागाउँ गाविसका वडा नम्बर ७ र ८ भूकम्पबाट अति प्रभावित क्षेत्र रहेका छन् । उक्त स्थानमा अधिकांशरुपमा तामाङ समुदायका बासिन्दा बसोवास गर्ने गर्दछन् । उक्त क्षेत्रका अधिकांश घर पूर्णरुपमा नष्ट भएका छन् ।

भूकम्पबाट प्रभावित क्षेत्रलाई मध्यनजर गर्दै पिउने पानीको आपूर्ति गरिरहेको उहाँले बताउनुभयो । उपमहानगरपालिकाभित्रका क्षेत्रमा दैनिक १२ वटा ट्याङ्करमार्फत खानेपानी आपूर्ति गरिरहेको जानकारी प्रमुख जिल्ला अधिकारी कोइरालाले दिनुभएको छ ।

भूकम्पबाट प्रभावित क्षेत्रका बासिन्दाको स्वास्थ्यको ख्याल राख्दै आजबाट प्रत्येक गाविसमा एक/एक जना मेडिकल अफिसर पठाइएको छ । उक्त क्षेत्रमा महामारीको समस्या आउन नदिन उक्त कदम चालिएको उहाँले बताउनुभयो ।

भूकम्पबाट प्रभावित अति संवेदनशील क्षेत्रको सुरक्षाका लागि महानगरीय प्रहरी परिसर ललितपुरले सुरक्षा प्रबन्ध मजबुत बनाइएको प्रहरी वरिष्ठ उपरीक्षक पुष्पचन्द रञ्जितले बताउनुभयो । राहत सामान सम्बन्धित स्थानसम्म पुर्‍याउँदा आउन सक्ने कठिनाइलाई मध्यनजर गर्दै सुरक्षा निकाय चनाखो रहेको उहाँले बताउनुभयो । राज्य र अन्य निकायबाट प्राप्त भइरहेका राहत सामग्री पारदर्शी रुपमा वितरण गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।

यसअघि जिल्लाको दक्षिणी भेगमा राहत सामग्री वितरण हेलिकप्टरमार्फत गरिएको थियो । यसरी लगिएको राहत अपर्याप्त भएको स्थानीयले बताएका छन् । प्रतिगाउँ ५० प्याकेजका दरले लगिएको प्याकेजभित्र बिस्कुट, चाउचाउ, चिउरा, त्रिपाल रहेका थिए । यसरी गाउँमा आएको राहत वितरण कार्यमा आफू नजिकको मान्छेलाई मात्र दिने गरेको स्थानीयको गुनासो आइरहेको छ ।

प्रतिक्रिया