पाल र औषधिको प्रतिक्षामा दोलखावासी, राहत लैजाने प्रयास हुँदै

इनेप्लिज २०७२ वैशाख १६ गते ९:३८ मा प्रकाशित

earthquake_hemanta_shrestha_04_20150429091543.gifकाठमाडौँ, १६ वैशाख । विनाशकारी भूकम्पका कारण घरबारविहीन भएका ४० हजार दोलखावासीले सरकारले राहतको नाममा पाल र औषधिको प्रतिक्षामा चार दिनदेखि खेतबारीमा दिनरात बिताइरहेका छन् ।

दोलखाको लामिडाँडा गाविसमा ५५ घर रहेकामा दुई घर मात्र बाँकी छन् । ती पनि बस्न नसकिने अवस्थामा छन् । ग्रामीण भेगका ९५ प्रतिशत घरहरु पूर्णरुपमा नष्ट भए पनि चार दिनसम्म राहतका लागि पाल र औषधिसम्म पु¥याउन नसकेको दोलखा क्षेत्र नं २ का सभासद् आनन्दप्रसाद पोखरेलले बताउनुभयो ।

पानीका कारणले घरबारबिहीन बारीमा बसेकाले चिसो लागेर झन् बिरामी पर्ने समस्या बढेको र सरकारले ओत लाग्नका लागि त्रिपालसम्म नदिनु दुःखद भएको उहाँले बताउनुभयो ।

सभासद् पोखरेलका अनुसार अहिले गृह मन्त्रालयसँग त्रिपाल, औषधि र खाद्य सामग्री नेपाली सेनाको हेलिकोप्टरबाट पु¥याउनका लागि परामर्श भइरहेको छ । तीनदिन खालीपेट बारीमा बसेका मानिसलाई चाउचाउ, बिस्कुट, कम्बलजस्ता आधारभूत कुरा लैजाने तयारीसमेत भइरहेको छ । सोमबार नै नेपाली सेनाको हेलिकोप्टरले राहत सामग्री लिएर जाने भनिए तापनि अहिलेसम्म पुग्न सकेको छैन ।

शनिबार र आइतबार गएको भूकम्पका कारण दोलखामा अधिकांश ढुङ्गामाटोका घर भत्किएका र कतिपय स्थानमा सम्पर्क समेत हुन नसक्दा मानिसहरु जीवित छन् कि छैनन् भन्ने समेत जानकारी पाउन नसकेको दोलखा क्षेत्र नम्बर १ का सभासद् पार्वत गुरुङले बताउनुभयो ।

उहाँका अनुसार लामावगर गाविसमा रहेका तर सम्पर्कमा नआएका यार्सागुम्बा टिप्न गएका करिब ९०० मानिस हालसम्म सम्पर्कमा आउन नसकेका र गाउँगाउँमा उद्धार टोलीको अभावका कारण यथार्थ जानकारी प्राप्त गर्न सकिएको छैन ।

अझै पनि सडक पहिरोले पुरिएर बाटो बन्द भएपछि कतिपय घाइतेले उपचारसमेत पाउन नसकेको र कतिपयको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । सदरमुकाम चरीकोटमा सनाखत भएर आएका मृतक हालसम्म ५५ जना र ४६० जनाभन्दा बढी घाइते भएका छन् ।

प्रतिक्रिया