किमाथाङ्का अरुण र तल्लो अरुणको अध्ययन गरिँदै

इनेप्लिज २०७२ वैशाख ९ गते ९:०० मा प्रकाशित

b1102ba7609a6a5d2ff2a5cd72768f72काठमाडौँ, ९ वैशाख । सरकारले किमाथाङ्का अरुण र तल्लो अरुण जलविद्युत् आयोजनाको सम्भाव्यता तथा वातावरणीय अध्ययन प्रारम्भ गर्ने भएको छ ।

आगामी आर्थिक वर्षमा ती आयोजनाको काम थाल्ने ऊर्जा मन्त्रालयले जनाएको छ । मन्त्रालयले हालै व्यवस्थापिका–संसद्अन्तर्गतको कृषि तथा जलस्रोत समितिमा प्रस्तुत गरेको योजनाअनुसार चालु आर्थिक वर्षमा नै अध्ययन सुरु गरिएको १८४ मेगावाट कर्णाली–१ जलविद्युत् आयोजना र ३०० मेगावाट क्षमताको सङ्खुवासभाको अरुण–४ जलविद्युत् आयोजनाको सम्भाव्यता तथा वातावरणीय अध्ययनलाई निरन्तरता दिइनेछ ।

त्यसैगरी, माथिल्लो झिमरुक जलाशययुक्त जलविद्युत् आयोजना, नौमुरे जलविद्युत् आयोजना, कर्णाली चिसापानी जलविद्युत् आयोजनालगायत अन्य साना तथा मझौला आयोजनाको अध्ययनलाई पनि निरन्तरता दिइनेछ ।

उक्त मन्त्रालयका अनुसार उत्तरगङ्गा, आँधीखोला, तमोर तथा दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजना तथा माथिल्लो अरुण, माथिल्लो भेरी र चैनपुर सेती जलविद्युत् आयोजनाको अध्ययनलाई पनि निरन्तरता दिइनेछ ।

आगामी आर्थिक वर्षभित्रै चमेलिया जलविद्युत् आयोजना र कुलेखानी–३ जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरिनेछ । माथिल्लो तामाकोसी, त्रिशूली ३ ए, राहुघाटको निर्माण कार्यलाई तीव्रगतिमा अघि बढाइनेछ ।

मन्त्रालयका अनुसार बूढीगङ्गा जलविद्युत् आयोजनाको विस्तृत इन्जिनियरिङ तथा वातावरणीय अध्ययन सुरु गर्ने तथा पूर्वाधार तयारको काम चालु राखिनेछ । बूढीगण्डकी तथा नलसिंहगाड जलविद्युत् आयोजनाको निर्माण सुरु गर्न आवश्यक सम्पूर्ण पूर्वाधार तयारीको काम पनि सोही आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य मन्त्रालयले निर्धारण गरेको छ ।

प्रसारण लाइन तथा वितरणका निम्ति १३२ किलोभोल्ट तथा अन्य प्रसारण लाइन आयोजनाअन्तर्गत चालु आर्थिक वर्षमा ४७ वटा आयोजना सञ्चालनमा रहेकामा आगामी आर्थिक वर्षमा १० वटा थप आयोजनाको निर्माण सुरु गरिनेछ । त्यस्तै, ३३ किलोभोल्ट तथा सबस्टेसन आयोजनाअन्तर्गत ८२ वटा आयोजना रहेकामा चालु आर्थिक वर्षमा थप सात आयोजनाको निर्माण सुरु गरिनेछ ।

प्रतिक्रिया