बाजुराका अझै विद्यालयमा पाठ्यपुस्तक पुगेन

इनेप्लिज २०७२ वैशाख ९ गते २:५५ मा प्रकाशित

निमेन्द्र शाही

image6बाजुरा, ९ वैशाख । जिल्ला शिक्षा कार्यालय बाजुराले बिहीबारबाट औपचारिक रुपमा विद्यार्थी भर्ना अभियान सञ्चालन गरे पनि जनक शिक्षा सामग्री केन्द्रले पाठ्यपुस्तक पुर्‍याउन नसक्दा पुस्तक बिनै भर्ना अभियान सञ्चालन भएको छ ।

गत वर्षको तथ्याङ्कलाई हेर्ने हो भने जिल्लामा कक्षा १ देखि १० सम्म ८० हजार सेट पुर्‍याउनुपर्नेे थियो तर केही विषयका पाठ्यपुस्तक नपाएरै विद्यार्थीले परीक्षा दिनुपरेको थियो ।

जिल्ला शिक्षा कार्यालय बाजुराले पाठ्यपुस्तकको रकम विद्यालयको खातामा हालेको लामो समय बितिसक्दासमेत पाठ्यपुस्तक विद्यार्थीले पाउन सकेका छैनन् । जनक शिक्षा सामग्रीले कक्षा ६ देखि कक्षा १० सम्मको एक लाख सेट पुर्‍याउनुपर्ने भए पनि सदरमुकामको डिपोमा अहिलेसम्म ५० हजार सेट मात्र पुगेको बताइएको छ ।

गत वर्ष जिल्लाका विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउने गरी जिम्मा पाएका डिलरले पाठ्यपुस्तक ढुवानीको भाडा र नौ प्रतिशत कमिसन पाए पनि यस वर्ष भने केन्द्रले कमिसन मात्र दिएका कारण पाठ्यपुस्तक बोक्नसमेत रकम नपुग्ने भएकाले काम गर्न नसकिएको बडिमालीका पुस्तक पसल बारबिसका हीरेन्द्र बानियाँले बताउनुभयो ।

जनक शिक्षा सामग्री केन्द्रको डिलरबाट टाढा ढुवानी गर्न नपर्ने केही पुस्तकका एजेन्टले मात्र किताब उठाएका छन् भने जिल्लाका पूर्वीत्तर ११ गाविस जिल्ला दक्षिणी क्षेत्रका गाविसमा अझै पाठ्यपुस्तक जान सकेको छैन ।

सरकारले दिने पाठ्यपुस्तकको रकमसमेत विद्यार्थी भर्नाको अनुपातमा नआउने भएका कारण सबै विद्यार्थीले पाठ्यपुस्तक पाउँदैन थिए । यस वर्ष त अहिलेसम्म पुस्तक पसलले समेत पुस्तक उठाएको छैन पुस्तक पाइने हो या होइन थाहा छैन । शम्भु सुनन्दा उमावि जुकोटका प्राचार्य गोविन्दबहादुर शाहले बताउनुभयो ।

पाठ्यपुस्तक ढुवानी आफ्नो खल्तीबाट गर्न नसकिने भएकाले हामीले किताब उठाउन सकेका छैनौँ । हामीले डिपोबाट पाठ्यपुस्तक सम्बन्धित गाविसमा लैजान प्रतिकेजी रु २५ लाग्छ । हामीले रु नौ मा मात्र पाउँछौँ । लाखाँै लगानी गरेर किन ऋण थुपार्ने किताब सरकारले व्यवस्था गरी दिनुप¥यो कोल्टी क्षेत्रमा पाठ्यपुस्तक वितरण गर्ने नरेश शाहीले बताउनुभयो ।

जनक शिक्षा सामग्री केन्द्रका अधिकृत काशीचन्द्र रोकायाले भन्नुभयो “जिल्लामा पाठ्यपुस्तक पुगेको छ केहीले मात्र उठाएका छन् । मैले यो समस्या समाधान गर्न नसक्ने भएका कारण माथि पठाएको छु । माथिबाट जवाफ आएमा काम अगाडि बढाउँछु ।”

जनक शिक्षा सामग्री केन्द्र र जिल्लामा पाठ्यपुस्तक पुर्‍याउने एजेन्टका बीचको समस्याका कारण जिल्लाका विद्यार्थीले विद्यालय जाँदा पाउनुपर्ने पुस्तक अहिलेसम्म नपाउनुले आफूहरु आक्रोशित भएको र यो समस्या छिट्टै समाधान नभए आन्दोलन गर्ने अनेरास्ववियु जिल्ला कमिटी बाजुराले एक कार्यक्रममार्फत चेतावनी दिएको छ ।

जिल्लामा १५ वर्ष माथिको कुल साक्षरता प्रतिशत ४०.१४, छ वर्ष माथिको साक्षरता प्रतिशत ५५.५० प्रतिशत मात्र रहेको छ । जिल्ला शिक्षा कार्यालय बाजुरा निमित्त कार्यालय प्रमुख बिबिराज सोतीले दिनुभएको जानकारीअनुसार महिलाको साक्षरता प्रतिशत अझै कम छ ।

छ वर्ष माथिको उमेर समूहमा हेर्ने हो भने महिलाको साक्षरता प्रतिशत ४३ अर्थात् पुरुषको तुलनामा २५ प्रतिशतले कम देखिएको छ । उता १५ वर्ष माथिको उमेर समूहमा हेर्ने हो भने पुरुषको ५८.७४ र महिलाको ३७.१४ प्रतिशतले कम हुँदै २१.६० मात्र रहेको छ ।

जिल्ला शिक्षा कार्यालय बाजुराले २०६७ सालमा गरेको घरधुरी सर्भेक्षणको तथ्याङ्कअनुसार एक लाख ४० हजार १४८ जनसङ्ख्या रहेका जिल्लामा २४ गाविस र एक नगरपालिका रहेका छन् ।

जिल्लामा २२३ बालविकास केन्द्र २७१ सामुदायिक विद्यालय २७ संस्थागत र तीन वटा स्नातक क्याम्पस रहेका छन् । बाजुरामा शिक्षाको नतिजा प्रवेशिका परीक्षालाई आधार मानेर तुलनात्मकरुपमा लिने हो भने २०६५ सालदेखि नतिजा उधोगतिमा झरेको देखिन्छ ।

विसं ०६५ मा जिल्लाभर ८२.९ प्रतिशले परीक्षामा पास गरेका थिए भने दोस्रो वर्षमा घटेर ७०.८ प्रतिशत थियो त्यस पछि निरन्तर अ‍ोरालो लागेको नतिजा ०७० मा आएर २१ प्रतिशतमा झरेको देखिन्छ ।

भर्ना अभियान सञ्चालन भए पनि पुस्तक नपुग्दा विद्यार्थी मर्कामा परेका छन् । गएका वर्षमा त केही किताब पाइन्थे यस वर्ष कुनै पनि किताब नपाइने हो कि भन्ने पिरलो रहेको कैलाश मावि मोहतीका प्रधानाध्यापक समराज विष्टले गुनासो गर्नुभयो ।

प्रतिक्रिया