आपत्कालीन रक्तसञ्चार केन्द्रको स्थापना

इनेप्लिज २०७२ वैशाख ८ गते २:१५ मा प्रकाशित

images-15ललितपुर, ८ वैशाख । राजधानीमा हुन सक्ने भूकम्पीय जोखिमलाई दृष्टिगत गरी केन्द्रीय नेपाल रेडक्रसको पहलमा ललितपुरको बालकुमारीमा आपत्कालीन रक्तसञ्चार केन्द्रको स्थापना गरिएको छ ।

केन्द्रको उद्घाटन गर्दै उपप्रधानमन्त्री प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक संविधान निर्माणका लागि सबै राजनीतिक दलसँगको छलफल सकारात्मक भइरहेको बताउनुभयो ।

उहाँले नेपाली जनतालाई संविधान दिनका लागि वर्तमान सरकार संवेदनशील भई काम गरिरहेको उल्लेख गर्नुभयो ।

सो रक्तसञ्चार केन्द्र आम नागरिकको जीवन रक्षाका लागि सहयोगी हुने उपप्रधानमन्त्री सिंहले विश्वास व्यक्त गर्नु भयो ।

ब्रिटिस रेडक्रसको समन्वयमा डिपार्टमेन्ट फर इन्टरनेसनल डेभलपमेन्टको आर्थिक सहयोगमा केन्द्रको स्थापना गरिएको केन्द्रीय रेडक्रसका वरिष्ठ प्रशासक जीवनतारा भट्टले बताउनुभयो । उक्त केन्द्रको स्थापनाका लागि करिब रु तीन करोड ७२ लाख लागत लागेको हो ।

केन्द्रको कुल क्षमता एक हजार छसय युनिट रगत सङ्कलन गरी राख्न सकिने उहाँले बताउनुभयो । सो भवन सातवटा कन्टेनर जोडेर बनाइएको हो भने भवन दुई तल्लाको रहेको हो ।

प्रतिक्रिया