व्यापारी दाजुभाइको घरबाट १० लाखभन्दा बढीको चोरीे

इनेप्लिज २०७२ वैशाख ७ गते १२:१९ मा प्रकाशित

लहान, ७ वैशाख । यहाँका व्यापारी दाजुभाइको एक घरबाट गएराति १० लाखभन्दा बढीकोे धनमाल चोरी भएको छ ।

लहान नगरपालिका– ४ निवासी शिवसुन्दर राउत र उहाँका भाइ रामसुन्दर राउतको घरबाट गएराति नगद, गरगहना र लत्ताकपडा गरी रु १० लाखभन्दा बढीको धनमाल चोरी भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

भान्जाको विवाहमा सहभागी हुन घरका सबै सदस्य घरमा ताल्चा लगाएर सिरहा सदरमुकाम गएको र बिहान घर फर्किदा मात्र चोरी भएको आफूहरु थाहा पाएको पीडित व्यापारी शिवसुन्दरले जानकारी दिनुभयो ।

चोरले घरको ताल्चा फोडेर शिवसुन्दरको घरबाट रु तीन लाख नगद, सात तोला सुनको गरगहना, एक थान कम्प्युटर, एक थान डिजिटल क्यामेरा र लत्ताकपडा तथा उहाँका भाइ रामसुन्दरको घरबाट रु ६० हजार नगद, पाँच तोला सुनको गरगहना र लत्ताकपडा चोरी गरेर लगेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो ।

व्यापारी दाजुभाइको घरमा चोरी गरेको आशङ्कामा एक जनालाई पक्राउ गरिएको छ ।

प्रतिक्रिया