निजी अस्पताललाई नवीकरणमा रोक

इनेप्लिज २०७२ वैशाख ७ गते १२:०८ मा प्रकाशित

Morang_district_location_mapमोरङ (पथरी), ७ वैशाख । मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका यहाँका निजी अस्पतालको नवीकरणमा रोक लगाइएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका जनस्वास्थ्य अधिकृत शिवनारायण यादवले मापदण्ड विपरीत सञ्चालन भइरहेका अस्पताललाई कारबाहीस्वरुप नवीकरण रोक लगाइएको बताउनुभयो ।

यादवले निजी अस्पतालले स्वास्थ्य निर्देशिका–२०७० को उपहास गरेको भन्दै मापदण्ड विपरीत सञ्चालित अस्पताललाई कारबाहीस्वरुप नवीकरण नगर्ने नीति बनाएको जानकारी दिनुभयो ।

स्वास्थ्य निर्देशिका अनुसार अस्पतालहरु एकअर्काबीच एक सय मिटरको दूरीमा रहनुपर्ने प्रावधान छ । तर विराटनगरको कोसी अञ्चल अस्पतालबाट ३० मिटर दूरीमा विभिन्न अस्पताल सञ्चालनमा ल्याइएको छ । त्यतिमात्र होइन २५ श्ययाको अस्पताल सञ्चालन अनुमति लिएर ४० श्ययाको अस्पतालसमेत सञ्चालन गरिरहेको नागरिक समाजका अगुवा उत्तम ढुङ्गेल बताउनुहुन्छ ।

उता, अस्पताल सञ्चालकहरु सरकारको नीतिलाई नै दोषारोपण गरिरहेका छन् । सरकारको स्वास्थ्य निर्देशिका परिवर्तन भइरहने कारण निजी अस्पताललाई समस्या आइपरेको निजी अस्पताल सञ्चालकहरु बताउँछन् ।

गोल्डेन अस्पतालका सञ्चालक दिनेश ठाकुरले २०६५ सालमा पुरानो स्वास्थ्य निर्देशिकाबमोजिम आफूहरुले अस्पताल दर्ता गरेर सञ्चालन गरेको बताउनुभयो । उहाँले सरकारले नयाँ निर्देशिका ल्याएर आफूहरुलाई अप्ठ्यारोमा पार्न खोजेको आरोप लगाउनुभयो ।

कोसी अञ्चल अस्पताल नजिकै अस्पताल खोलेर सञ्चालन गरिएका गोल्डेन, सिरी र एम्स अस्पताल हुन् । त्यस्तै मुस्कान पोलि क्लिनिक, बालबालिका किल्निक पनि आसपासमै छन् । यी अस्पताल कोसी अञ्चल अस्पतालको ३० देखि ६० मिटरको फरकमा छन् ।

प्रतिक्रिया