काठमाडौँ, ७ वैशाख । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले देशका विभिन्न ६४ वटा उत्तरपुस्तिका परीक्षण केन्द्रबाट एसएलसीको उत्तरपुस्तिका परीक्षण सुरु गरेको छ ।
गत चैत ५ गते सुरु भई १६ गते सकिएको एसएलसी परीक्षामा देशभरबाट पाँच लाख ७४ हजार ६८५ विद्यार्थी सहभागी भएका थिए ।
परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेका अनुसार आगामी असार १५ गते अगावै परीक्षाफल प्रकाशन गर्ने लक्ष्यका साथ परीक्षा नियन्त्रण कार्यालयसहित देशभरका विभिन्न ६४ वटा उत्तरपुस्तिका केन्द्रमा परीक्षण कार्यलाई तीव्र रुपमा बढाइएको छ ।
यातायातको सहजता तथा परीक्षकको उपलब्धताका आधारमा केन्द्र स्थापना गरिएको र परीक्षकहरुले केन्द्रमै गएर उत्तरपुस्तिका परीक्षण गर्नुपर्ने उहाँले जानकारी गराउनुभयो ।
उत्तरपुस्तिका परीक्षण कार्यलाई प्रभावकारी बनाउन केन्द्रहरुमा परीक्षा नियन्त्रण कार्यालयबाट अनुगमन टोली पनि परिचालन गरिएको छ ।
उत्तरपुस्तिका परीक्षणबापत गत वर्षसम्म प्रति उत्तरपुस्तिका रु १५ पारिश्रमिक उपलब्ध गराइएकामा यस वर्षदेखि उक्त पारिश्रमिक वृद्धि गरी रु २० बनाइएको छ ।
प्रतिक्रिया