एक करोडको लागतमा खेलमैदान निर्माण सुरु

इनेप्लिज २०७२ वैशाख ७ गते १:१७ मा प्रकाशित

Parbat_district_locationपैयुँक्षेत्र (पर्वत), ७ वैशाख । पर्वत जिल्लाको मुडिकुवामा रु एक करोडको लागतमा जिल्लाकै नमुना र राष्ट्रिय स्तरको खेलमैदान निर्माण कार्य सुरु भएको छ ।

स्थानीय पञ्चमन्दिर युवा समाजको पहलमा खेल मैदानको निर्माण कार्य मुडिकुवा–३ अम्बोट भन्ने स्थानमा सुरु गरिएको हो ।

खेलमैदान निर्माणका लागि खेलकुद मन्त्रालयबाट रु पाँच लाख, मुडिकुवा गाविसबाट रु ७० हजार, जिल्ला विकास समितिबाट एक लाख रुपैयाँ सहयोग रकम उपलब्ध भएको छ । अहिलेसम्म रु १० लाखबराबरको निर्माण कार्य भएको पञ्चमन्दिर युवा समाजका अध्यक्ष विनोद कुँवरले जानकारी दिनु भयो ।

पछिल्लो समयमा खेल क्षेत्रमा युवाको बढ्दो आकर्षण र जिल्लामा खेलमैदानको कमी भएको अवस्थामा मैदान निर्माण हुन थालेपछि खेलप्रेमी तथा खेलाडीका लागि केही राहत मिल्ने देखिएको छ ।

स्थानीय स्तरमा खेलमैदान अभावका कारण खेलप्रेमी तथा खेलाडीका लागि असहज भइरहेको बेलामा बन्न लागेको खेल मैदानले जिल्लाको समग्र खेल विकासमा टेवा पुग्ने र राष्ट्रिय स्तरको खेलमैदान हुने सरोकारवाला निकायको भनाइ छ ।

पञ्चमन्दिर युवा समाजले खेलमैदान निर्माणका लागि गाउँगाउँमा सहयोगसमेत सङ्कलन गर्ने कार्य थालेकोे छ । कम्तीमा रु एक हजार दिएर आजीवन सदस्य रहने गरी आर्थिक सङ्कलन अभियान सुरु भएको र हालसम्म एक लाख रुपैयाँबराबरको आर्थिक संकलन भएको युवा समाजले बताएको छ ।

प्रतिक्रिया