सरुभक्त अभिनन्दित

इनेप्लिज २०७२ वैशाख ५ गते ६:०१ मा प्रकाशित

Saru-Bhakta-Shrestha_20140306015531बलेवा (बागलुङ), ५ वैशाख । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति एवम् साहित्यकार सरुभक्तलाई ‘रत्न श्रेष्ठ राष्ट्रिय सम्मान’ बाट हिजो यहाँ अभिनन्दन गरिएको छ ।

रत्न श्रेष्ठ पुरस्कार गुठीले नेपाली साहित्यमा पुर्‍याएको योगदनको कदर स्वरुप उहाँलाई अभिनन्दन गरेको जनाएको छ ।

सम्मानपछि साहित्यकार सरुभक्तले नेपाली साहित्यले नेपालको पुरानो इतिहास सुरक्षित राखेको बताउँदै रचना सिर्जनाले समाजको वस्तुपरक र यथार्थ चित्रण गर्नुपर्नेमा जोड दिनुभयो ।

यसैबीच गुठीले पश्चिमाञ्चल क्षेत्रका १६ जिल्लाका कृतिमध्य उत्कृष्ठ दुई कृति छनोट गरेर सम्मान तथा पुरस्कारसमेत दिएको छ । यस वर्ष गद्य विधामा जिल्लाकै बलेवाका कवि तथा निबन्धकार भूपिन व्याकुल र पद्य विधाका लागि पर्वतका लक्ष्मीकान्त शर्मा ‘लकाश’ लाई सम्मान तथा पुरस्कृत गरिएको छ ।

ब्याकुलको २४ रिल नामक निबन्ध सङ्ग्रह र लकाशको सौर्यगाथा नामक महाकाब्य छनोट गरी पुरस्कार प्रदान गरिएको पुरस्कारका संस्थापक प्राज्ञ प्रेम छोटाले जानकारी दिनुभयो ।

साथै सोही अवसरमा डा सडानन्द पौडेलद्वारा लिखित ‘मोहनबहादुर मल्लका उपन्यासको सामाजिक यथार्थवाद’ समेत विमोचन गरिएको छ ।

मोफसलको साहित्यको श्रीवृद्धिका लागि धौलागिरिका साहित्यकार छोटाले आफ्नी स्व आमा रत्नकुमारी श्रेष्ठकोे स्मृतिमा पुरस्कार कोष स्थापना गर्नुभएको हो । कोषबाट २०३४ सालयता हरेक दुई वर्षको अन्तरमा साहित्यकार सम्मान गरिँदै आएको छ । पुरस्कारको राशि जनही रु २५÷२५ हजार नगद, दोसल्ला र सम्मानपत्र रहेको छ ।

यसअघि रत्न श्रेष्ठ पश्चिमाञ्चल पुरस्कारबाट २७ जना सम्मानित, रत्न श्रेष्ठ राष्ट्रिय सम्मानबाट आठ जना अभिनन्दित र छ जनालाई कदरपत्र प्रदान गरिसकेको गुठीले जनाएको छ ।

प्रतिक्रिया