काठमाडौँ, ३ वैशाख । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया जान चाहने नेपाली नागरिकका लागि आजदेखि कोरियन भाषा आवेदन खुलेको छ ।
श्रम तथा रोजगार मन्त्रालय र गणतन्त्र कोरिया, रोजगार तथा श्रम मन्त्रालयबीच सम्पन्न समझदारीपत्रअनुरुप इपिएसअन्तर्गत छैठौं कोरियन भाषा परीक्षा आजदेखि बैशाख ६ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले जनाएको छ ।
आवेदन दर्ता समय प्रत्येक दिन बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म हुने तथा परीक्षा आवेदन फाराम दर्ता स्थानमा निःशुल्क उपलब्ध गराइनेछ ।
आवेदन फाराम वितरण र दर्तास्थल काठमाडौँ उपत्यकाभित्र नेपाल वेद विद्याश्रम संस्कृत मावि, वनकाली, गौशाला, काठमाडौं भ्याली उच्च मावि, महाराजगन्ज, ल्याब्रोटरी उच्च माध्यमिक विद्यालय कीर्तिपुर (बल्खु) र ललितपुरमा महेन्द्र आदर्श विद्याश्रम, सातदोबाटो, च्यासल फुटबल खेल मैदान, बालकुमारी, ललितपुरमा व्यवस्था गरिएको छ ।
काठमाडाँैं उपत्यका बाहिर धरान नगरपालिकास्थित धरान सभागृह, जनकपुर नगरपालिकास्थित जनकपुर चुरोट कारखाना लिमिटेडको कभर्ड हल, बुटवल नगरपालिकास्थित नेपाल प्रहरी तालिम केन्द्रको पूर्वतर्फ रहेको बुटवल प्रदर्शनी मण्डप, पोखरा उपमहानगरपालिका–१६ बाटुलेचौरस्थित विन्ध्यबासिनी उच्च मावि र डडेल्धुरा (अमरगढी नगरपालिका) स्थित कर्मचारी मिलन केन्द्रमा आवेदनका फाराम वितरण र दर्तास्थलको व्यवस्था मिलाइएको इपिएस कोरिया शाखाले जनाएको छ ।
परीक्षा शुल्क अमेरिकी डलर २४ हुने र आवेदकले जुन दिनमा दर्ता फाराम बुझाउने हो सोको अघिल्लो दिनका लागि केन्द्रीय बैंकले तोकेको विनिमय दरका हिसाबबाट नेपाली रुपैयाँको हिसाब गरिनेछ ।
परीक्षास्थल तथा परीक्षा समयसम्बन्धी विस्तृत सूचना २०७२ जेठ २० मा प्रकाशित हुने शाखाले जनाएको छ ।
कास्कीको पोखरास्थित दरखास्त फाराम सङ्कलन केन्द्रमा फाराम दर्ता गराउने व्यक्ति पोखरा उपमहानगरपालिकास्थित परीक्षा केन्द्रबाट मात्र परीक्षामा सहभागी हुन सक्नेछन् ।
पोखराबाहेक अन्य दरखास्त फाराम सङ्कलन केन्द्रबाट फाराम दर्ता गराउने व्यक्तिको हकमा काठमाडौं उपत्यकाभित्र तोकिएको परीक्षा केन्द्रबाट परीक्षामा सहभागी हुनसक्ने व्यवस्था मिलाइने शाखाले जनाएको छ ।
भाषा परीक्षा आगामी जेठ ३० र ३१ गते हुने र एक दिनमा २ सिफ्ट गरी सञ्चालन हुनेछ भने नतिजा साउन १६ गते प्रकाशित गरिनेछ ।
परीक्षा उत्तिर्ण हुने आवेदकले उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रमा मात्र रोजगार आवेदन फाराम भर्न सक्नेछन् । यसवर्ष उत्पादनमूलक क्षेत्रतर्फ सात हजार १०० जनालाई भाषा परीक्षा पास गर्ने अनुमान गरिएकोमा चार हजार ९०० तथा कृषि तथा दुई हजार २०० जना पशुपालन क्षेत्रमा लैजाने तयारी गरिएको छ ।
भाषा परीक्षामा उत्कृष्ट अङ्क ल्याउने र सीप परीक्षण दिन पाउने योग्य ठहरिएकामध्ये इच्छुक परीक्षार्थीले सीप परीक्षामा समेत सहभागी हुन सक्नेछन् । सीप परीक्षामा उत्कृष्ट अङ्क ल्याउने परीक्षार्थीहरूलाई प्राथमिकता साथ रोजगारी दिन रोजगारदाता कम्पनीलाई सिफारिस गरिनेछ ।
अठार वर्ष पुरा भई ३९ वर्ष ननाघेको, फौजदारी अभियोगमा अदालतबाट जेल सजाय नपाएको र कोरियामा गई गैह्रकानूनी रुपमा बसोवास गरी कोरियाबाट समातिएर फिर्ता नपठाइएको व्यक्तिले मात्रै आवेदन दिन पाउने शाखाले जनाएको छ ।
प्रतिक्रिया