दमक, ३ वैशाख । तोपगाछी गाविस–८ मिलन चोकका कृषक व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् ।
कृषकले तरकारी बिक्रीबाट मनग्य आम्दानी लिन थालेका छन् । मिलन मिश्रित कृषक समूह गठन गरेर सामूहिक रुपमा तरकारी खेती सुरु गरेपछि उनिहरु घरमा बसीबसी आम्दानी लिन थालेका छन् । काँक्रा, करेला, लौका, रायो, घिरौँला, भिन्डीलगायतका बेमौसमी तरकारी बिक्री गरेर यथेष्ट आम्दानी गर्न थालेको समूहका सचिव लक्ष्मीप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
“एक्लाएक्लै भन्दा सामूहिक रुपमा तरकारी खेती गर्दा फाइदा बढी हुन्छ” उहाँले भन्नुभयो ।
समूहले अहिले सात कट्ठा जमिन भाडामा लिएर तरकारी खेती गरिरहेको छ । पहिले सो ठाउँमा अन्नबालीबाट कृषकले वार्षिक रु १० हजारसम्मको आम्दानी हुने गरेकामा अहिले सोही तरकारी खेतीबाट दशाँैगुणा बढी आम्दानी बटुल्न थालिसकेका छन् ।
यथेष्ट आयआर्जन हुने भएकाले अहिले अरु जमिन पनि भाडामा लिएर तरकारी खेतीको विस्तार गर्ने योजना रहेको समूहका अध्यक्ष टङ्कप्रसाद पोख्रेलले बताउनुभयो ।
“तालिम र सिँचाइको व्यवस्था गर्न सकिए यो क्षेत्रको नै मुहार फेर्न सकिन्छ” उहाँले भन्नुभयो । समूहले हरियो तरकारी, खुर्सानीको व्यावसायिक उत्पादन गर्न थालेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया