काठमाडौँ, ३० चैत । अमेरिकाका लागि नवनियुक्त राजदूत डा अर्जुन कार्कीले आर्थिक कूटनीतिमा केन्द्रित रहेर आफूले काम गर्ने बताउँदै गैरभन्सार अवरोध हटाउनेतर्फ विशेष प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
नेपाल समुद्रपार निकासी पैठारी सङ्घका पदाधिकारीसँग आज भएको भेटमा अमेरिकाले प्रदान गरेको ‘ड्युटी’ र ‘कोटा’ रहित पहुँचले भन्सार अवरोध हटाए पनि गैरभन्सार अवरोध हटाउनु चुनौतीपूर्ण रहेकाले त्यसलाई प्राथमिकताका साथ आफूले उठाउने उहाँले बताउनुभयो ।
उहाँले नेपालमा उत्पादित तयारी पोशाकलाई सहुलियत दिन अमेरिकी संसद्मा पेस भएको विधेयक पारित गराउन प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनुभएको सङ्घले जनाएको छ ।
अमेरिकामा नेपाली वस्तुको सहज पहुँचमा उपलब्ध गराउन तथा नेपालमा अमेरिकी लगानी भित्र्याउने विषयमा छलफल भएको थियो । सङ्घका पदाधिकारीले अमेरिकी सरकारले बेलाबेलामा जारी गर्ने ‘यात्रा सल्लाह’ का कारण नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर परेकाले त्यसलाई रोक्नेतर्फ कूटनीतिक प्रयत्न गर्न राजदूत कार्कीलाई आग्रह गरेका थिए ।
प्रतिक्रिया