धनगढी, २६ चैत । प्रधानसेनापति गौरव शमशेर जबराले सेनाको कल्याणकारी बोर्डको ‘क्षेत्रीय इपिसेन्टर कार्यालय’ को आज यहाँ उद्घाटन गर्नुभयो ।
प्रधानसेनापति जबराले लामो समय नेपाली सेनामा योगदान दिएका परिवारको जीवनस्तर माथि उठाउनका लागि यस भवनको स्थापना गरिएको बताउनुभयो ।
यस क्षेत्रबाट नेपाली सेनामा प्रतिनिधित्व गर्ने भूपू सेनाको यथार्थ तथ्य पत्ता लगाउन यस भवन उपयुक्त हुने विश्वास व्यक्त गर्दै उहाँले भूपूलाई स्वास्थ्य, शिक्षा र स्वरोजगार तालिम उपलब्ध हुने जानकारी दिनुभयो ।
करिब दुई विघा क्षेत्रमा फैलिएको तीनवटा छुट्टाछुट्टै भवन रु पाँच करोडको लागतमा निर्माण गरिएको हो ।
सो अवसरमा प्रधानसेनापति जबराले सेनाको कल्याणकारी कोषबाट भूपू सेनाद्वारा सञ्चालित कृषि सहकारी संस्थालाई रु ३३ लाखको सहुलियत ऋण उपलब्ध गराउनुभएको थियो ।
सेनाले हालसम्म ४९२ जनालाई सहुलियत दरमा रु चार करोड ७५ लाख ऋण उपलब्ध गराउँदै आएको छ ।
सेनाका कल्याणकारी बोर्डका कार्यकारी निर्देशक चित्रबहादुर गुरुङले भूपूको जीवनशैलीमा परिवर्तन ल्याउन कोषबाट सहुलियत दरको ऋण उपलब्ध गराइएको बताउनुभयो ।
हालसम्म नेपाली सेनामा ६४ हजार ४०० भूपू रहेका छन् भने कल्याणकारी कोषमा रु ३१ अर्ब जम्मा भएको छ ।
प्रतिक्रिया