शनिबारदेखि गैंडा गणना हुने, सङ्ख्या बढ्ने अनुमान

इनेप्लिज २०७१ चैत २५ गते १२:२३ मा प्रकाशित

Rhinoकाठमाडौँ, २५ चैत । वन तथा भू–संरक्षण मन्त्रालयले विभिन्न निकायको सहकार्यमा आउँदो शनिबारदेखि मुलुकभर एक सिङ्गे गैंडा गणना कार्य सुरु गर्दैछ ।

वन विभाग र राष्ट्रिय निकुञ्ज वन्यजन्तु संरक्षण विभागको सहकार्य तथा राष्ट्रिय प्रकृति संरक्षण कोष र विश्व वन्यजन्तु कोषको आर्थिक एवम् प्राविधिक सहयोगमा गरिने सो गणना एक महिनाभित्र सम्पन्न हुने बताइएको छ ।

सम्बन्धित प्राविधिक विज्ञ र राष्ट्रिय निकुञ्जका कर्मचारीको सहयोगमा गरिने गणना एकैचोटी २०÷२५ हात्तिको सहायताले बिहानैदेखि सुरुहुने र त्यसदिन जहाँ अन्त्य गरिन्छ भोलिपल्ट त्यही स्थानबाट सुरु गरिने राष्ट्रिय निकुञ्ज वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

कोही गँैडा नछुटुन र कोही नदोहोरिउन भनेर एक÷दुई सय मिटरको फरकमा राखिने हात्तिको करिब दुई÷तीन किलोमिटर लामो लाइनका माध्यमले सबैलाई एकैचोटी गन्ने यो विधि नेपालको आफ्नै मौलिक भएको विभागका प्रवक्ता महेश्वर ढकालले राससलाई जानकारी दिनुभयो ।

त्रिभुवन विश्व विद्यालयका प्राध्यापक प्रल्हाद योञ्जनले विकास गरेको यस विधिबाट नेपालमा सन् १९९४ देखि प्रत्येक चार वर्षमा गैंडा गणना हँुदै आएको छ ।

प्रत्येक गैंडाको टाउको गणना गरिने यस विधिबाट जङ्गलमा गैंडाबाहेक अन्य वन्यजन्तुको जीवनशैली, चोरी सिकारीको अवस्था, आहारको तथा पानीको अवस्थाका बारेमा समेत जानकारी हुने विभागका प्रवक्ता ढकालको भनाइ छ ।

विश्वमा एकसिङ्गे गैंडाको उद्गमस्थल नेपालको चितवन राष्ट्रिय निकुञ्ज र भारतको कान्जिरोवा हो । दुलर्भ वन्यजन्तुका रुपमा रहेको एकसिङ्गे गैंडा चितवनमा ५०० भन्दा बढी र भारतमा दुई हजार ७०० भन्दा बढी सङ्ख्यामा रहेका छन् । बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा वन्यजन्तु आरक्षमा भने पछि सारिएको हो ।

पछिल्लोपटक सन् २०११ मा गरिएको गणनाको तथ्यांकअनुसार मुलुकका चितवन राष्ट्रिय निकुञ्जमा ५०३, बर्दिया राष्ट्रिय निकुञ्जमा २४ र शुक्लाफाँटा वन्यजन्तु आरक्षमा सात गरी गैंडाको सङ्ख्या जम्मा पाँच सय ३४ रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव गोविन्द गजुरेल बताउनुुहुन्छ ।

निकुञ्जहरूमा गैंडाका बच्चाको संख्यामा वृद्धि देखिएको तथा सन् २०११ र २०१३ मा मुलुकले गैंडा संरक्षणमा शुन्य चोरीशिकारी कायम राखेकाले यसपटकको गणनामा गैंडाको संख्यामा बृद्धि हुने अनुमान गरिएको छ ।

आगामी वैशाखसम्ममा कुनैपनि गैंडाको चोरी शिकारी नभएमा नेपालले यस वर्ष पनि सन् २०११ र २०१३ झैँ शुन्य चोरीशिकारी सम्बन्धी अन्तर्राष्ट्रिय पुरस्कार पाउने निश्चित छ ।

गैंडाको बासस्थानमा आएको सुधार र चोरीशिकारी नियन्त्रणले सन् २००८ को तुलनामा २०११ मा ९९ गैंडा बढेको विश्व वन्यजन्तु कोषको तथ्यांक छ । जसअनुसार चितवनमा मात्रै ९५, बर्दिया र शुक्लाफाँटामा दुई÷दुई गैंडाको सख्यामा बृद्धि भएको थियो ।

वृद्धिको यो अनुपातका आधारमा यस वर्ष पनि गैंडाको सख्यामा वृद्धि हुने राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ संरक्षण अधिकृत डा नरेश सुवेदीको अनुमान छ ।

प्रतिक्रिया