आठवटा वनको वैज्ञानिक व्यवस्थापन सुरु

इनेप्लिज २०७१ चैत २३ गते ३:०२ मा प्रकाशित

Morang_district_location_mapपथरी (मोरङ), २३ चैत । मोरङका आठवटा वनको वैज्ञानिक वन व्यवस्थापन सुरु गरिएको छ ।

वैज्ञानिक वन व्यवस्थापन सुरु गरिएका वन केराबारी–७ को आहाले सामुदायिक वन, केराबारी–६ दीपज्योति सामुदायिक वन, सुन्दर दुलारी–५ नमुना सामुदायिक वन, सुन्दुर दुलारी–४ सिद्धार्थ सामुदायिक वन, लेटाङको नमुना सामुदायिक वन, लेटाङ–२ को हरियाली सामुदायिक वन, लाटी झोडा सामुदायिक वन गरेर एकैपटक आठ वनको वैज्ञानिक व्यवस्थापन सुरु गरिएको जिल्ला वन कार्यालय मोरङले जनाएको छ ।

वैज्ञानिक वन व्यवस्थापनका पक्षधरका अनुसार वैज्ञानिक वन व्यवस्थापन गर्दा वनको हैसियतमा सुधार आउने, वातावरणीय लाभ प्राप्त हुने, स्थानीय रोजगारी सिर्जना हुने, वन पैदावारको निरन्तर आपूर्ति हुने, धेरै राजस्व प्राप्त हुने र वन सङ्गठनको छवि सुध्रने र आपसी खिचातानी घट्नेजस्ता प्रत्यक्ष र अप्रत्यक्ष फाइदाहरु प्राप्त हुने छ ।

केही महत्वपूर्ण प्रजातिको वन जस्तै तराईको वनमा रहेका खोटे सल्लाको वन, उत्तिस, कटुस चिलाउनेको वन मात्र व्यवस्थापन गर्न सके वार्षिक ६ देखि १२ करोड घन फिट काठ दिगो रुपमा उत्पादन हुने, करिब १३ लाख मानिसले वर्षैभरि रोजगारी पाउने र सरकारलाई २० देखि ४० अर्ब रुपैयाँ प्रतिवर्ष राजस्व प्राप्त हुने जिल्ला वन कार्यलय मोरङको दाबी छ ।

धेरै सामुदायिक वनले आफ्नो वनलाई वैज्ञानिक व्यवस्थापनको ८० वर्षे योजना बनाएर अहिले भइरहेको ठूलासाना सबै रूख कटान गरिरहेका छन् । वैज्ञानिक वन व्यवस्थापनको कामले प्राथमिकता पाए पनि व्यवस्थित गर्ने पाटोमा उपभोक्ता नै अन्योलमा रहेको लाटी झोडा सामुदायिक वनका उपभोक्ता गोपाल शर्मा चौलागार्इं बताउनुहुन्छ ।

वैज्ञानिक वन व्यवस्थापनका विज्ञका अनुसार यस प्रणालीमा ३० सेमीसम्म व्यास भएका रूखलाई एड्भान्स ग्रोथ अर्थात् बालीका रुपमा कायम गरिन्छ र पुनरुत्पादन सुनिश्चित हुनेगरी उमेर पुगेका बूढा रूखलाई क्रमशः हटाउँदै लगिन्छ । यसका लागि छनोट भएको वनलाई विभिन्न फेलिङ सिरिज (कम्पार्टमेन्ट) र आवधिक खण्ड (सबकम्पार्टमेन्ट)मा विभाजन गरिन्छ । यसमा भएका रूख कस्ता र कति हुन्छन् भन्ने बारेमा सबैले थाहा पाउने गरी रूखको कटान हुने मोरङका सहायक वन अधिकृत जनक पाध्य बताउनुहुन्छ ।

यसैका माध्यमबाट वनको दिगोपना र वार्षिक रुपमा उत्पादन हुने काठ दाउराको परिमाण निर्धारण हुन्छ । वैज्ञानिक वन व्यवस्थापनमा वन क्षेत्रलाई विभिन्न खण्डमा विभाजन गरी पुराना रूख काट्ने र नयाँ बिरुवा उत्पादन गर्ने गरिन्छ ।

प्रतिक्रिया