खान्दुङ उमावि सफा विद्यालय घोषणा

इनेप्लिज २०७१ चैत १९ गते ४:३६ मा प्रकाशित

इलाम, १९ चैत । सरसफाइका क्षेत्रमा कार्यक्रम सञ्चालन भइरहेका जिल्लाका ३० वटा विद्यालयलाई पछि पार्दै सिद्धिथुम्कास्थित खान्द्रुङ उच्च माविले उत्कृष्ट पुरस्कार हात पारेको छ ।

सफा विद्यालयका रुपमा विद्यालयलाई चिनाउन सफल भएको जनाउँदै खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ जिल्ला शाखा इलामले रु २० हजार नगद पुरस्कारसहित विद्यालयलाई सफा विद्यालय घोषणा गरेको हो ।

विद्यालय परिसरको सरसफाइ, बालमैत्री, छात्रामैत्री शौचालयको पहुँच, खानेपानीको व्यवस्थापन, सरसफाइका लागि आवश्यक संयन्त्रको व्यवस्था, छात्रा शौचालयको व्यवस्था, हात धुनका लागि साबुन र साबुन केससहितको व्यवस्थालगायतका सूचक पूरा गर्ने उक्त विद्यालयलाई बुधबार एक कार्यक्रमबीच खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घका पूर्व अध्यक्ष राम राना, जिल्ला शिक्षा अधिकारी टङ्कप्रसाद गौतम र जिविसका योजना तथा प्रशासन शाखाका अधिकृत तेजेन्द्र चापागाईंले संयुक्तरुपमा पुरस्कार हस्तान्तरण गर्नुभयो ।

शिक्षा विभाग, वाटर एड नेपालको सहयोगमा महासङ्घले सञ्चालन गरेको नागरिक आवाज कार्यक्रमअन्तर्गत सफा विद्यालय घोषणा गरिएको हो ।

जिल्लाका साङरुम्वा, जीतपुर उमावि, जनता मावि चुलाचुलीलगायत जिल्लाका ३० वटा विद्यालयमा गतवर्षदेखि यो कार्यक्रम लागू भएको महासङ्घका सचिव दीपेन्द्र खनालले जानकारी दिनुभयो ।

गतवर्ष यही कार्यक्रमबाट जिल्लाका तीन वटा विद्यालयलाई पुरस्कृत गरिएको थियो । पुरस्कारको रकम विद्यालयले सरसफाइकै क्षेत्रमा खर्च गर्ने र यसले विद्यालयलाई थप हौसला मिलेको विद्यालयका प्राचार्य प्रेम घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया