नहर हस्तान्तरण र सञ्चालन

इनेप्लिज २०७१ फागुन २४ गते १५:१८ मा प्रकाशित

भद्रपुर, २४ फागुन । कन्काइ सिँचाइ प्रणालीअन्तरगत निर्मित कन्काइ मूल नहर स्थानीय उपभोक्तालाई हस्तान्तरण गरिएको छ ।

झापाको तोपगाछी गाविसअन्तरगत ढ्याङ्ग्री बजारमा आज आयोजित कार्यक्रममा पूर्वाञ्चल सिँचाइ डिभिजन नं १ झापाले उपभोक्ता समितिलाई मूल नहर हस्तान्तरण गरेको हो ।

कुल आठ हजार हेक्टर जग्गामा सिञ्चित हुने यो नहर विश्व बैंकको अनुदानबाट बनेको हो ।

सोही नहरअन्तर्गत तीन वर्ष यो नहरको ढ्याङ्ग्री खण्डमा कमला नदीको बाढीले पानी बग्ने पक्की पुल भत्काएपछि तोपगाछी र बैगुनधुरा गाविस क्षेत्रमा सिँचाइ विच्छेद भएको थियो ।

आम उपभोक्ताको माग बमोजिम २०७० साल चैत महिनाबाट कुल रु. एक करोड ५५ लाख ४४ हजारको लागतमा सुरु भएको निर्माण कार्यले पूर्णता पाएपछि आजदेखि सोही नहरमा पानी पनि सञ्चालन भएको छ ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले नहरको बन्द मूल ढोकालाई खोलेर पानी सञ्चालन गर्नुभयो ।

उहाँले सिँचाइ सुविधाबाट वञ्चित कृषकलाई यो नहरको पानीले उत्पादकत्व बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

पूर्वाञ्चल सिँचाइ विकास डिभिजन नं. १ झापाका प्रमुख कुञ्जनभक्त श्रेष्ठले नहर सञ्चालन र व्यवस्थापनमा सरकारभन्दा पनि स्थानीय उपभोक्ताको दायित्व बढी हुनेमा जोड दिनुभयो ।

कनकाई नहर सिँचाइ प्रणाली जल उपभोक्ता समन्वय समितिका अध्यक्ष सूर्यनारायण सिँह ताजपुरियाको अध्यक्षतामा भएको सो कार्यक्रममा कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमल्सेनालगायतले नहरको सफल सञ्चालनबारे आ–आफ्ना धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया