महिला सशक्तीकरणमा उल्लेख्य प्रगति भएकामा राष्ट्र सङ्घको स्वागत

इनेप्लिज २०७१ फागुन २४ गते ४:५२ मा प्रकाशित

United-Nationsकाठमाडौँ, २४ फागुन । संयुक्त राष्ट्र सङ्घले नेपालमा लैङ्गिक असमानताका मामिलाको सम्बोधन तथा महिला सशक्तीकरणमा उल्लेख्य प्रगति भएकामा स्वागत गरेको छ ।

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नेपालस्थित राष्ट्रसङ्घीय कार्यालयले आज संयुक्त विज्ञप्ति जारी गरी महिला सशक्तीकरणका क्षेत्रमा नेपालमा केही उल्लेख्य प्रगति भए पनि महिला सशक्तीकरणसम्बन्धी विषय कार्यान्वयनमा अझै गम्भीर चुनौती र अवरोध रहेको जनाएको छ ।

महिला समानता, उनीहरूको अधिकार एवम् सशक्तीकरण, दलित, आदिवासी, जातीय समुदाय, जोखिममा परेका समुदाय, शारीरिक रुपमा अक्षम, मधेसी, मुसलमान, शिख, सशस्त्र समूहबाट पीडित तथा सशस्त्र द्वन्द्वका चपेटामा परेका, पृथक लिङ्गीय पहिचान र यौनिकतायुक्त वर्गका चासोलाई सम्बोधन गर्ने २० विशेष विषय समेटिएको काठमाडौँ घोषणा विज्ञप्तिमा औँल्याइएको छ ।

महिला अधिकारसम्बन्धी बेइजिङ पुनरवलोकन सम्मेलनबाट अनुमोदन भई नेपालको राष्ट्रिय प्राथमिकताप्राप्त ती २० विषयप्रतिको प्रतिबद्धता पूरा गर्न नयाँ बन्ने संविधानमा तिनलाई समावेश गर्नुपर्नेमा राष्ट्र सङ्घले जोड दिएको छ ।

सोमबारदेखि न्युयोर्कस्थित राष्ट्रसङ्घीय प्रधान कार्यालयमा उक्त विश्व संस्थाका विश्वभरका सदस्य मुलुकका सरकारका प्रतिनिधि, राष्ट्रसङ्घीय निकाय तथा गैरसरकारी संस्थाका पदाधिकारीले महिलाका अधिकारबारे २० वर्षअघि बेजिङ सम्मेलनमा पारित कार्यसूची कार्यान्वयन, महिला सशक्तीकरणका प्रतिबद्धतालगायत भावी योजनाका साथै महिलाका अवस्थाबारे छलफल गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया