माटोमा लगाइएको कर हटाउन माग

इनेप्लिज २०७१ फागुन २२ गते १:३७ मा प्रकाशित

लुम्बिनी (रुपन्देही), २२ फागुन । जिल्ला विकास समिति रुपन्देहीले माटोमा कर लगाउने निणर्यप्रति इँट्टा, निर्माण तथा हेभी इक्युप्मेन्ट व्यवसायीले विरोध जनाएका छन् ।

जिविसले करको दायरा बढाउन व्यावसायिक प्रयोजनका लागि खरिद बिक्री गरिने माटोमा प्रतिघनफिट भ्याटसहित दुई रुपैया छब्बीस पैसा कर लगाउने निर्णय गरेको छ ।

गत मङ्सिर १६ गते सूचना टाँस गरी माटोमा कर लगाउने निर्णय गरेको जिविसले विहीबार सम्पन्न जिविस परिषद्मा पेस भएपछि स्थानीय लुम्बिनी निर्माण व्यवसायी सङ्घ, लुम्बिनी इँट्टा व्यवसायी सङ्घ, हेभी इक्युपमेन्ट व्यवसायी सङ्घ र लुम्बिनी ट्याक्टर समितिले करको विरोध गर्दै कर तत्काल फिर्ता नगरे आन्दोलनमा जाने चेतावनी समेत दिएको छ ।

लुम्बिनी निर्माण व्यवसायी सङ्घले भैरहवामा पत्रकार सम्मेलन गरी माटोमा लगाइने करका कारण प्रत्यक्षरुपमा उपभोक्ता मारमा पर्ने उल्लेख गर्दै यसलाई तत्काल हटाई वातावरण सहज बनाउन आग्रह गरेको छ ।

सङ्घका अध्यक्ष बलराम शर्माले माटोमा लगाइएको कर हटाई हेभी इक्युपमेन्ट तथा गाडीबाट एकमुस्ट कर लिन आग्रह गर्नुभयो ।

हेभी इक्युपमेन्ट व्यवसायी सङ्घका अध्यक्ष महेश भट्टले माटोमा लगाइएको करका कारण व्यवसायी तथा उपभोक्ताले अनावश्यक झन्झट बेहोर्नुपर्ने बताउँदै यसलाई हटाउन माग गर्नुभयो । माटोमा कर लगाइएपछि माटोको मूल्य समेत आकासिएको छ ।

प्रतिक्रिया