निजी क्षेत्रसँग सहकार्य गर्ने सरकारको नीति: कृषिमन्त्री पराजुली

इनेप्लिज २०७१ फागुन १८ गते १४:२० मा प्रकाशित

hari-prasadविराटनगर, १८ फागुन । कृषिमन्त्री हरिप्रसाद पराजुलीले ग्रामीण जनताको आर्थिकस्तरमा सुधार ल्याउन निजी क्षेत्रसँग सहकार्य गर्ने गरी कार्यक्रम ल्याउन लागेको बताउनुभएको छ ।

मोरङको बबियाविर्ता–३ मा आज इस्टर्न स्टार कृषि सहकारीद्वारा सञ्चालित कृषि फर्मको उद्घाटन गर्दै मन्त्री पराजुलीले उत्पादन, विकास निर्माण तथा पूर्वाधार निर्माणलगायतका काममा निजीक्षेत्रसँग सहकार्य गर्नेगरी आगामी बजेटमा कार्यक्रम ल्याउने जानकारी गराउनुभयो ।

सरकारले ल्याएका नीति तथा कार्यक्रमका बारेमा अधिकांश ग्रामीण क्षेत्रका कृषकले जानकारी पाउन नसक्दा त्यसको लाभ लिन नसकेको उल्लेख गर्दै उहाँले स्थानीयस्तरको आफ्ना आवश्यकता आफैँ परिपूर्ति गर्ने सहकारीहरुलाई सरकारले प्रवद्र्धन गर्ने जानकारीसमेत दिनुभयो ।

सो संस्थाका अध्यक्ष जीवन घिमिरेले बहुआयामिक उद्देश्यसहित बबियाविर्तामा सञ्चालन गरिएको कृषि फर्मलाई स्थानीय साझा संस्थाको रुपमा विकास गर्दै लग्ने धारणा प्रकट गर्नुभयो ।

सो अवसरमा एमालेका अध्यक्ष महेश रेग्मीले कृषिको विकास नभएसम्म आर्थिक समृद्धि हुन नसक्ने भएकाले कृषि क्षेत्रमा बढी बजेट विनियोजन गर्नुपर्ने विचार प्रकट गर्नुभयो ।

सो कृषि फर्ममा माछापालन, कागती खेती, पशुपालन र उन्नत जातका रुखसहित रबरको खेती गरिने जनाइएको छ ।

प्रतिक्रिया