म्याग्दीका सभासद्ले बाँडे चार दर्जन विकास योजना

इनेप्लिज २०७१ फागुन १७ गते ५:५३ मा प्रकाशित

Myagdi_district_locationम्याग्दी, १७ फागुन । म्याग्दीबाट संविधानसभामा प्रतिनिधित्व गर्ने तीनजना सभासद्ले रु एक करोड ३५ लाख बजेटको विकास योजना बाँडफाँड गरेका छन् । एक निर्वाचन क्षेत्र रहेको जिल्लामा सभासद् नवराज शर्मा, रेशम बानियाँ र नरदेवी पुनले निर्वाचन क्षेत्र विकास र संसद् विकास कार्यक्रमबाट प्राप्त रु एक करोड ४५ लाख बजेटलाई चार दर्जन बढी योजनाका लागि बाँडफाँड गरेका हुन् ।

निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट आउने रु एक करोडबाट १० वटा योजना सञ्चालन गर्न बजेट विनियोजन गरिएको छ । उक्त शीर्षकअन्तर्गत रु एक लाख ५० हजार प्रशासनिक खर्च कटाएर बाँकी सबै योजना सञ्चालन गर्ने गरी बजेट बाँडफाँड गरिएको स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले बताउनुभयो ।

पौडेलका अनुसार, पात्लेखेत पहिरो नियन्त्रण, घारखोला–पाउद्वार सडक, बेनी नगरपालिका–१३ स्थित सरस्वती माविमा पहिरो नियन्त्रण, दरबा–देवीस्थान सडक र फूलबारी–रुम सडकखण्डलाई रु दश/दश लाख बजेट विनियोजन गरिएको छ ।

त्यस्तै, जिल्लामा तारजालीको माग उच्च रहेकाले नदी नियन्त्रण र तारजाली खरिदका लागि रु १३ लाख ५० हजार, भिरकाटे–दोबा सडकलाई रु सात लाख र दुर्गम गाविस गुर्जाको सामुदायिक भवन फर्निचर खरिद एवम् हिमाञ्चल उच्च मावि नागीको खेलमैदान निर्माणका लागि रु आठ/आठ लाख बजेट विनियोजन गरिएको छ ।

त्यस्तै, सभासद्हरुले संसद् विकास कार्यक्रमअन्तर्गत पाउने रु १५/१५ लाख पनि विभिन्न ३९ योजनालाई बाँडेका छन् । प्रत्यक्ष निर्वाचित नेकपा (एमाले)का नवराज शर्मा र समानुपातिकबाट सभासद् बनेका नरदेवी पुनले १२/१२ वटा योजना छनोट गरेका छन् भने सरकारले मनोनीत गर्ने २६ जनाभित्र परेका काँग्रेस सभासद् रेशम बानियाँले १५ योजनामा बजेट विनियोजन गरेको जिविसले जनाएको छ ।

प्रतिक्रिया