किसान चियापत्ती टिप्न व्यस्त

इनेप्लिज २०७१ चैत १६ गते ३:०५ मा प्रकाशित

Thee-plukkenइलाम, १६ चैत । हरियो चियापत्तीको मुना पलाउने याम सुरु भएपछि यहाँका किसान हरियो पत्ती टिप्न व्यस्त हुन थालेका छन् । कात्तिक अन्त्यदेखि हरियो पत्ती (मुना) पलाउन छाडेर फुर्सदिला बनेका किसानलाई फेरि पत्ती टिप्न चटारो सुरु भएको हो ।

किसानले हरियो चियापत्ती टिप्न थालेसगै जिल्लाभर रहेका अधिकांश ठूला र साना कारखानाले प्रशोधन थालेका छन् । उत्पादनको पहिलो याम (फस्ट फल्स) को चिया गुणस्तरका हिसाबले राम्रो मानिन्छ । सुरु यामको गुणस्तरीय पत्ती ‘फस्ट फल्स’ जति छिटो बजारमा पुर्‍याउन सक्यो त्यति नै सहजरुपमा बिक्री हुने भएकाले कारखानाले थोरै हरियो पत्ती भए पनि प्रशोधन थालेका हुन् ।

पश्चिम बङ्गालको राजधानी कोलकत्ता अक्सनमा छिटो चिया पुर्‍याउन यहाका व्यवसायीले दार्जिलिङ क्षेत्रका बगानसग प्रतिस्पर्धा गर्न यसपटक चैत पहिलो सातादेखि पत्ती टिपाइ सुरु गरिएको ग्रिनहिल चिया उत्पादक सहकारी संस्था साँखेजुङका सञ्चालक गोविन्दप्रसाद दाहालले बताउनुभयो । फागुनको दोस्रो साता वर्षा भएकाले यो पटक चियाको मुना पनि छिटो पलाएको हो ।

कारखानाले प्रशोधन थाले पनि मूल्य भने तोकेका छैनन् । अर्थोडक्स चिया उत्पादनका लागि अग्रणी यो जिल्लाका कृषकले वार्षिक ३५ लाख किलोग्राम तयारी चिया उत्पादन गर्छन् । जिल्लामा २४ ठूला र ३९ साना कारखानालाई १२ हजार किसानले हरियो चियापत्ती बिक्री गर्छन् ।

प्रतिक्रिया