अख्तियारी नआउँदा कञ्चनपुरमा साक्षरोत्तर कक्षा सञ्चालनमा आउन सकेन

इनेप्लिज २०७१ चैत १३ गते ३:२४ मा प्रकाशित

Kanchanpur_district_locationकञ्चनपुर, १३ चैत । बजेटको अख्तियारी नआउँदा अनौपचारिक कक्षामा सहभागी भई साक्षर भएका कञ्चनपुरका ३ हजार ८०० प्रौढलाई साक्षरोत्तर कक्षामा सहभागी गराउने कार्य अगाडि बढ्न सकेको छैन ।

गत माघ महिनामै सञ्चालनमा आउने भनिएका कक्षाहरू बजेटको अख्तियारी नपुग्दा सञ्चालनमा आउन नसकेको हो ।

सामुदायिक सेवा केन्द्रको क्षेत्रभित्रका गाविस र नगरपालिका क्षेत्रमा १९० वटा कक्षामार्फत प्रौढहरूलाई साक्षरोत्तर कक्षामा सहभागी गराउने कार्यक्रम बजेट अभावले अगाडि बढ्न नसकेको जिल्ला शिक्षा कार्यालयका सहायक जिल्ला शिक्षा अधिकारी पदमराज भट्टले बताउनुभयो ।

जिल्ला अनौपचारिक शिक्षा समितिको बैठकले भीमदत्तनगरपालिकामा ५३, त्रिभुवनबस्तीमा ८, पिपलाडीमा १०, लक्ष्मीपुरमा ९, देखतभूलीमा ११, कालिकामा १०, परासनमा १०, दोधारामा १०, सुडामा १२, रैकवार विचवामा १२, बेलडाँडीमा १४, कृष्णपुरमा १४, बाईसे विचवामा ८ र रामपुर विलासिपुरमा ९ गरी १९० वटा कक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

कक्षा सञ्चालन हुने गाविस र नगरपालिका क्षेत्रका सामुदायिक अध्ययन केन्द्रले सहयोगी कार्यकर्ता छनौट गरी जिल्ला शिक्षा कार्यालयमा पठाइसकेको भएपनि बजेट अभाव भन्दै शिक्षा कार्यालयले कार्यक्रम अगाडि बढाएको छैन ।

गत वर्ष अनौपचारिक कक्षामा सहभागी भई सामान्य लेखपढ गर्न सक्ने भएका १५ देखि ६० वर्षसम्मका प्रौढलाई हिसाब किताव राख्न, चिठ्ठीपत्र लेख्न, सरकारी नीति नियम, अधिकार र आयआर्जनबारे कक्षामा पठनपाठनको कार्य गर्नका लागि साक्षरोत्तर कक्षा सञ्चालन गर्ने गरी शिक्षा कार्यालयले कार्यक्रम अगाडि सारेको हो ।

प्रतिक्रिया