विद्युत् अनियमितता गर्ने नौ सयमाथि कारबाही रु दुई करोड चौबीस लाख राजस्व

इनेप्लिज २०७१ चैत १२ गते ६:२० मा प्रकाशित

timthumb.phpनेपालगन्ज, १२ चैत । नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्र शाखा कार्यालय नेपालगन्जले विद्युत् अनियमितता तथा विद्युत् महसुल नतिर्ने ८७८ विद्युत् ग्राहकमाथि कारबाही गरी रु दुई करोड २४ लाख राजस्व सङ्कलन गरेको छ ।

कारबाही गरिएकामध्ये ५०० ग्राहकलाई जरिवाना गरी विद्युत् पुनःजडान गरिएको छ । करिब दुई महिना अगाडि सरुवा भई आउनुभएका वितरण केन्द्रका प्रमुख चुटुनकुमार श्रीवास्तवले कालोसूचीमा परेकामध्ये १६ जनाबाट रु १० लाख ८० हजार तथा विद्युत् चुहावट गर्ने २६ जनाबाट रु १० लाख ४३ हजार राजस्व सङ्कलन भएको र अन्यमाथि कारबाही जारी रहेको बताउनुभयो ।

नेपालगन्ज बजार क्षेत्रमा छैसठ्ठी हजार विद्युत् ग्राहक छन् । विद्युत् चोरी तथा अनियमितता हुन नदिन कर्मचारी अत्यन्त क्रियाशील भई लागेको बताउँदै उहाँले लामो समयदेखि विद्युत् महसुस बक्यौता रु २४ करोड रहेकाले त्यसलाई असुल गर्न लागिएको जानकारी दिनुभयो ।

आफू कार्यालयको प्राविधिक, प्रशासनिक तथा उपभोक्ताको समस्या समाधानतर्फ केन्द्रित रहेको तर सवारी साधनको कमीले समस्या भएको गुनासो उहाँले गर्नुभयो ।

कार्यालयका लेखा प्रमुख केशर ठाडाले कम्प्युटर प्रविधि तथा तीन विद्युत् महसुल सङ्कलन काउन्टर सञ्चालनले सेवाग्राहीलाई समस्या नभएको जिकिर गर्नुभयो । हाल सो कार्यालयले विद्युत् चुहावट नियन्त्रण गर्न अनुगमनमा पनि जोड दिएको बताइएको छ ।

प्रतिक्रिया