मुस्ताङ, १२ चैत्र । जिल्ला पशु सेवा कार्यालयले हिमपातका कारण उपल्लो मुस्ताङका भेडाच्याङग्रा पालक किसानले करोडौँ रुपैयाँ नोक्सानी ब्यहोर्नु परेको भन्दै क्षतिपूर्तिका लागि पहल थालेका छन् ।
गत फागुन अन्तिम साता तीन दिनसम्म परेको निरन्तर हिमपात कारण एकहप्ता चरण क्षेत्रमा हिउँ जमेपछि उपल्लो मुस्ताङका छ गाविसका करिब ५०० भेडाच्याङग्रा मरेका थिए । अझै यकिन तथ्याङ्क नआएपनि पशु विभागमा किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग पठाइएको पशु सेवा कार्यालयका प्रमुख डा. नन्दलाल बर्माले जानकारी दिनुभयो ।
कागबेनीदेखि माथि अझै पूर्णरुपमा बाटो नखुलेका कारण प्राविधिक जान नसक्दा क्षतिबारे यकिन तथ्याङ्क आउन नसकेको पशु सेवा कार्यालयले जनाएको छ । किसानहरुका अनुसार, सबैभन्दा बढी छोसेरमा २५०, लोमान्थाङमा १५० र घमी गाविसमा ५० भन्दा बढी भेडाच्याङ्ग्रा मरेका छन् ।
“गतवर्ष पनि चिसो केही भेडाच्याङग्रा मरेका थिए, विभागबाट पाँच लाख रुपैयाँ क्षतिपुर्ति आएको थियो, कार्यालय प्रमुख बर्माले भन्नुभयो, “अहिले ठूलो क्षति भएकाले विभाग पनि गम्भीर भएको पाएका छौँ ।”
हरेक वर्ष उपल्लो मुस्ताङका लोमान्थाङ, छोण्हुप, छोसेर, चराङ, सुर्खाङ र घमी गाविसका किसानले यस्तै समस्या झेल्नुपरिरहेकाले पशु सेवा कार्यालयले दीर्घकालीन व्यवस्थापनका लागि विकल्पहरु खोजी गरिरहेको छ । मुस्ताङमा करिब ६० हजार भेडाच्याङ्ग्रा पालिएका छन् ।
प्रतिक्रिया