उपनिर्वाचनमा केन्द्रीय नेता परिचालन

इनेप्लिज २०७१ चैत ११ गते ८:०४ मा प्रकाशित

Baglung_district_locationबागलुङ, ११ चैत । मतदान हुने मिति चैत २८ नजिकिँदै गर्दा उपनिर्वाचनको सरगर्मी बढ्दो छ । दलहरु मत माग्दै मतदाताको घरदैलोमा पुगिरहेका छन् ।

यतिबेला सबै दलहरुको ध्यान बागलुङ क्षेत्र नं १ मा केन्द्रित छ । एउटा मात्र क्षेत्रमा हुन लागेको उपनिर्वाचनले केन्द्रलाई समेत प्रभावित पारेको छ ।

दलहरु आफ्ना नीति र कार्यक्रमप्रति नागरिकको पछिल्लो मत बुझ्न उपनिर्वाचनलाई ‘मिनी जनमत सङ्ग्रह’ का रुपमा लिएका छन् ।

निर्वाचन लड्ने सबै दल केन्द्र तहदेखि नै तयारीमा जुटेका छन् । दलहरुले केन्द्रीयस्तरको निर्वाचन परिचालन समितिसमेत बनाएका छन् । प्रमुख केही दलले केन्द्रीय पदाधिकारी नै उपनिर्वाचनमा खटाएका छन् । नेकपा (एमाले) ले केन्द्रीय सचिव गोकर्ण विष्टको संयोजकत्वमा केन्द्रीयस्तरको उपनिर्वाचन परिचालन समिति बनाएको छ ।

समितिमा धवलागिरि र गण्डकी अञ्चलका एमाले सभासद्, केन्द्रीय सदस्य, जिल्ला अध्यक्षलगायतका नेता सम्मिलित रहेको एमालेले जनाएको छ ।

त्यस्तै नेपाली काँग्रेसले केन्द्र तहमा उपनिर्वाचन परिचालन समिति नबनाए पनि नेता परिचालन गरेको छ । काँग्रेसको चुनावी अभियानमा केन्द्रीय नेताहरु सहभागी भइरहेका छन् । विशेष जिम्मेवारीका साथ केन्द्रीय सदस्य रत्ना शेरचन उपनिर्वाचनमा खटिनुभएको छ ।

नेपाली काँग्रेसको निर्वाचन प्रचारका क्रममा नेता शङ्कर भण्डारी, केन्द्रीय सदस्य प्रदीप पौडेल, सभासद् रञ्चित कर्णलगायतका नेताहरु बागलुङ आइसक्नुभएको छ । चुनावी सभामा उपसभापति रामचन्द्र पौडेल, नेता गोपालमान श्रेष्ठ, युवा नेता गगन थापा पनि आउने कार्यक्रम रहेको नेपाली काँग्रेस बागलुङका कार्यवाहक सभापति जगदीशचन्द्र उपाध्यायले बताउनुभयो ।

एकीकृत नेकपा (माओवादी) ले पनि स्थायी समिति सदस्य देवेन्द्र पौडेललाई उपनिर्वाचनमा खटाएको छ । केन्द्रीय सदस्य लिलाबहादुर थापाको संयोजकत्वमा उपनिर्वाचन परिचालन समिति पनि छ । केन्द्रीय सदस्य कृष्ण केसी, सभासद् केशरी घर्तीलगायतका नेताहरु पनि निर्वाचन अभियानमा क्रियाशील छन् ।

एमाओवादीबाट चुनावी सभाका लागि अध्यक्ष पुष्पकमल दाहाल, नेता डा बाबुराम भट्टराई आउने कार्यक्रम तय भएको एमाओवादी बागलुङका कार्यालय सचिव चन्द्र थापाले जानकारी दिनुभयो ।

साझा उम्मेदवार उठाएका राप्रपा नेपाल र राप्रपाले पनि महामन्त्री चन्द्रबहादुर गुरुङलाई उपनिर्वाचनमा खटाएका छन् । चुनावी सभालाई सम्बोधन गर्न दुवै पार्टीका अध्यक्ष कमल थापा र पशुपतिशमशेर जबरा बागलुङ आउने कार्यक्रम यसअघि नै तय भइसकेको छ ।

राष्ट्रिय जनमोर्चा, सङ्घीय समाजवादी पार्टी नेपाल र अन्य साना दलले पनि आफ्नो शक्ति उपनिर्वाचनमा केन्द्रित गरेका छन् ।

दलहरु प्रचारप्रसार, घरदैलो, सभालगायतका चुनावी कार्यक्रमसहित गाउँगाउँ पुगेका छन् । गत वर्ष भएको संविधानसभा निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट विजयी हरिबहादुर खड्काको सडक दुर्घटनामा परी निधन भएपछि यस क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया