मृतक बालकको परिवारलाई राष्ट्र्संघबाट क्षतिपूर्ति दिलाउन पहल गर्ने सहमति

इनेप्लिज २०७१ चैत ११ गते ७:५५ मा प्रकाशित

uno_1333972633बेलौरी (कञ्चनपुर), ११ चैत । विश्व स्वास्थ्य सङ्गठन (डव्लुएचओ)को गाडीको ठक्करबाट मृत्यु भएका बेलौरीका ८ वर्षीय बालकको परिवारजनलाई उचित क्षतिपूर्ति दिलाउन सहमति भएको छ ।

जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका–८ का सुवास भट्टको मङ्गलबार युएनको ६६–१–१३–१५ नम्बरको गाडीको ठक्करबाट मृत्यु भएको थियो । मृतकका परिवारजनले युएनको नियमानुसार क्षतिपूर्ति पाउनुपर्ने माग राखेर बेलौरीमा आन्दोलन गरेका थिए ।

मङ्गलबार राति जिल्ला प्रहरी कार्यालय, पीडित परिवार र बेलौरीका अगुवाबीच मृतक बालकलाई बिमा उपलब्ध गराउने र संयुक्त राष्ट्र् संघको नियमानुसार पाउने थप सेवासुविधाका लागि केन्द्रमा पहल गर्ने सहमति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कर्णबहादुर बमले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिलो चरणमा मृतक बालकका परिवारलाई दुर्घटना बिमा र दोस्रो चरणमा नियमानुसार थप सेवासुविधा भए उपलब्ध गराउने सहमतिपश्चात् आफन्त र स्थानीयवासीले आन्दोलन नगर्ने सहमति जनाएका हुन् ।

बेलौरीका स्थानीयवासीलाई सो घटनाबारे सहजीकरण गर्न नसकेका कारण स्थानीयवासी प्रहरीविरुद्ध सडकमा ओर्लिएका थिए । बेलौरीका स्थानीयवासी, व्यवसायी, विद्यार्थीलगायत सर्वसाधारण बेलौरी प्रहरीको हर्कतविरुद्ध उत्रिएका थिए । उनीहरुले बजार बन्द गर्नुका साथै इलाका प्रहरी कार्यालय घेराउसमेत गरेका थिए ।

यसैबीच, सोही घटनालाई लिएर नेवि सङ्घले घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । मङ्गलबार एक विज्ञप्ति जारी गर्दै घटनाबाट मृत्युवरण गरेका भट्टका आफन्तजनलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग अघि सारेको छ । ‘पीडित परिवारलाई उचित क्षतिपूर्तिसहित चालकलाई कार्वाहीको माग गर्दछौँ’– जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया