सुरक्षा समितिद्वारा नेपाल–भारत सीमा क्षेत्रको स्थलगत अवलोकन

इनेप्लिज २०७१ चैत ११ गते ७:५१ मा प्रकाशित

रत्ननगर (चितवन), ११ चैत । दक्षिण चितवनको माडी नगरपालिकास्थित सोमेश्वर क्षेत्रको नेपाल र भारतको सीमा क्षेत्रमा सुरक्षा समिति र राजनीतिक दलको एक टोलीले स्थलगत अवलोकन भ्रमण गरेको छ ।

प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विकेको नेतृत्वमा गएको टोलीले अतिक्रमण भइरहेको भनिएको क्षेत्रमा स्थलगत अवलोकन गरेको हो । अवलोकनका क्रममा भारतीय सीमा सुरक्षा अधिकारीसँग समेत छलफल गरेको प्रमुख जिल्ला अधिकारी डा विकेले बताउनुभयो ।

“नापी विभागका प्रतिनिधिसहित राजनीतिक दलको सहभागितामा सीमा मङ्गलबार अनुगमन भयो, त्यस्तो खासै समस्या पाइएन, सीमामा खटिएका भारतीय एसएसबीका सहायक कमाण्डरलगायतसँग छलफल गरेर आएका छौँ,” डा विकेले भन्नुभयो, “केही समस्या भए आपसमै समाधान गरिन्छ ।”

उहाँले छिट्टै सीमा क्षेत्रमा दुई देशमा संयुक्त टोलीबीच अनुगमन गरेर सीमामा देखिएका समस्या समाधान गर्ने बताउनुभयो ।

केही दिनअघि भारतीय सीमा सुरक्षा बल हरियारसहित नेपाली भूमिमा प्रवेश गरेको भन्ने समाचार बाहिर आएपछि टोली स्थलगत रुपमा सो क्षेत्रमा अवलोकन भ्रमणमा गएको थियो ।

सरकारद्वारा गठन भएको संयुक्त स्थलगत निरीक्षण टोलीले केही समयपछि संयुक्त रुपमा अवलोकन गरी समस्या समाधान गर्ने उहाँले बताउनुभयो ।

सीमा स्तम्भ नभएका स्थानमा स्तम्भ बनाउने, पुरानोको मर्मत गर्ने तथा मिचिएको भनिएका दशगजा क्षेत्रको स्थलगत प्रसितवेदन बनाएर केन्द्रमा पेस गर्ने उहाँले जानकारी दिनुभयो । संयुक्त स्थलगत निरीक्षण टोलीले यही फागुन २७ बाट काम थाल्ने भनिए पनि भारतीयले समय मागेका कारण अहिलेसम्म हुन सकेको छैन ।

प्रतिक्रिया