बाह्र किलो चाँदीसहित सुनसरीमा एक जना पक्राउ

इनेप्लिज २०७१ चैत १० गते ८:४५ मा प्रकाशित

pakraauइनरुवा, १० चैत । सुनसरी प्रहरीले ठूलो परिमाणमा १२ किलो चाँदीसहित एक जनालाई पक्राउ गरेको छ ।

पश्चिमबाट पूर्वतर्फ आइरहेको सार्वजनिक बसमा चेकजाँच गर्दा सुनसरी सदरमुकाम इनरुवा–६ बाट प्रहरीले गएराति सो परिमाणमा अवैध चाँदीसहित सोमबार पक्राउ परेका व्यक्तिलाई बरामद भएको चाँदीसहित आज प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

बाह्र किलो १२५ ग्राम चाँदीसहित बारा जिल्ला गमहरिया–४ निवासी अन्दाजी ७२ वर्षका बङ्कर साह पक्राउ परेका सुनसरीका प्रहरी उपरीक्षक सञ्जयराज शर्माले जानकारी दिनुभयो ।

बारा जिल्लाबाट विराटनगरतर्फ आइरहेको अवस्थामा प्रहरीले गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा सो परिमाणको चाँदीसहित साहलाई पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक शर्माले बताउनुभयो ।

पाउजु २९४ थान, डरकस १८ थान, किरिङ सात थान, लोटा दुई थान, कचौरा दुई थान, गिलास दुई थान, प्लेट दुई थान र पाउजुमा लगाउने झुम्का तीन किलो रहेको सुनसरी प्रहरीले जनाएको छ ।

झन्डै १२ किलो परिमाणको चाँदी बरामद भएकाले रु सात लाख ४० हजारबराबरको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

प्रहरीले जिल्लामा सुरक्षा सतर्कता र निगरानी बढाएपछि एकपछि अर्को अपराधका आरोपी तथा तस्करहरु पक्राउ पर्न थालेको सुनसरी प्रहरीले जनाएको छ । यसअघि पनि सुनसरीको बबिया क्षेत्रबाट चार किलो चाँदीसहित एक जना तस्कर पक्राउ परेका थिए ।

कपडा पसलमा आगलागी, रु ५० हजार मूल्यबराबरको क्षति

यसैबीच, सुनसरीको दुहबी भलुवा नगरपालिका–७ मा रहेको एक कपडा पसलमा मङ्गलबार बिहान ८ः३० बजे आगलागी भएको छ ।

स्थानीय रामजी रौनियारको कपडा पसलमा आगलागी हुँदा करिब रु ५० हजार मूल्यबराबरको क्षति भएको सुनसरी प्रहरीले जनाएको छ ।

बिहान ८ः३० बजे पूजा गर्ने बेलामा बालेको दियोबाट आगलागी भएको पीडित परिवारका रामाशङ्कर रौनियारले जानकारी दिनुभयो ।

आगलागीमा पसलमा भएको लत्ताकपडा र सरसामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीलाई स्थानीयवासी र दुहबी प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया