म्याग्दीमा तीन करोड ८२ लाख विद्युत् रोयल्टी

इनेप्लिज २०७१ चैत १० गते ८:३० मा प्रकाशित

Myagdi_district_locationम्याग्दी, १० चैत । जिल्ला विकास समिति म्याग्दीले आर्थिक वर्ष २०७१÷७२ मा रु तीन करोड ८२ लाख ५४ हजार ५०० विद्युत् रोयल्टी प्राप्त गरेको छ ।

विद्युत विभागबाट प्राप्त भएको रकमलाई कार्यदल बनाएर बजेट विनियोजन समेत गरिएको छ ।

प्राप्त भएको रोयल्टी रकमको २५ प्रतिशत विद्युतिकरणको लागि, ३५ प्रतिशत रकम लक्षित वर्गको लागि र अन्य रकम सम्पूरक कोषका लागि बजेट विनियोजन गरिएको स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले बताउनुभयो ।

विशेष गरी इलाकाबाट पारित भएर आएका विद्युत्, सडक र पर्यटनका योजनालाई प्राथमिकताका साथ राखिएको पौडेलको भनाई छ ।

लक्षित वर्ग अन्तर्गतको रकम विभिन्न तालिम, गोष्ठी सञ्चालन गरेर खर्च गर्ने प्रवृत्ति भएकोले यस पटक सो रकमले सामुदायिक भवन बनाउने निर्णय गरिएको जिविस म्याग्दीका सूचना अधिकृत पदम भण्डारीले जानकारी दिनुभयो ।

त्यसैगरी विद्युत् रोयल्टीबापत प्राप्त रकमले जिल्लामा ११ वटा इलाकामा ११ वटा बाल विकास केन्द्र समेत निर्माण गरिनेछ ।

गत वर्ष झन्डै रु एक करोड ५० लाख विद्युत् रोयल्टी प्राप्त भएकोमा यस पटक दोब्बर भन्दा बढी रकम प्राप्त भएको हो । पयर्टन, वन क्षेत्रलगायतको रोयल्टी आउने क्रम रहेको सूचना अधिकृत भण्डारीले बताउनुभयो ।

विद्युतीकरण, सडक मर्मत, शिक्षा, सामुदायिक भवन निर्माण, पर्यटन, खेलकुद, स्वास्थ्यलगायतका ८५ वटा योजनामा बजेट विनियोजन भएको जिविसले जनाएको छ ।

प्रतिक्रिया