भक्तपुर, १० चैत । सरकारले गत मङ्सिरमा भक्तपुरका १६ गाविसलाई गाभेर चारवटा नयाँ नगरपालिका घोषणा गरेपछि अलपत्र परेका कर्मचारीले सातामा एक दिन हाजिर गरेर फर्कन थालेका छन् ।
नगरपालिका घोषणा गरेर जिल्लालाई गाविसविहीन बनाएसँगै जिम्मेवारी र कार्यक्षेत्र नपाएका शाखा अधिकृतदेखि खरदारसम्मका कर्मचारी अलपत्र परेपछि जिल्ला विकास समिति भक्तपुरमा हाजिर गर्दै घर फर्कन थालेका हुन् । गाविसमा कार्यरत शाखा अधिकृतस्तरका सचिवको काम गर्ने निकाय र जिम्मेवारी नतोकिँदा कर्मचारीहरुले जिविसमा हाजिर गरेर फर्कन बाध्य भएका हुन् ।
नयाँ नगरपालिका अनन्तलिङ्गेश्वर, सूर्यविनायक, चा“गुनारायण र महामञ्जुश्री–नगरकोट नगरपालिकामा नया“ कार्यकारी अधिकृत आइसकेपछि निमित्त कार्यकारी भएर काम गर्दै आएका सचिवहरुलाई जिविसमा हाजिर गर्ने व्यवस्था गरिए पनि जिम्मेवारी भने पाएका छैनन् । जिविसमा उनीहरुको दरबन्दी नै नभएपछि फाजिलमा परेका छन् ।
गाविसमा कार्यरत यस्ता कर्मचारीमा १२ जना अधिकृत, तीन जना नायब सुब्बा र दुई जना खरदारमा रहेका छन्, जसमध्ये जिविसले दरबन्दी नै नभए पनि नासु र खरदारलाई नयाँ नगरपालिकाको संयुक्त वडा कार्यालयमा कामको जिम्मेवारी तोके पनि अधिकृतहरु भने अलपत्र परेका हुन् ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जिल्ला गाविसविहीन भएपछि अधिकृतस्तरका सचिवहरुलाई नगरपालिकामा मिल्दोजुल्दो पदमा काम लगाउन जिविसलाई निर्देशन दिए पनि नयाँ नगरपालिकाहरुमा शाखा अधिकृतस्तरको दरबन्दी नभएपछि कर्मचारी मिलान गर्न नसकिएको जिविसको भनाइ छ ।
निजामती सेवा नियमावलीअनुसार कर्मचारीलाई एक महिनाभन्दा बढी जिम्मेवारीविहीन राख्न नहुने कानुनी व्यवस्था हु“दाहु“दै पनि नगरपालिका घोषणा भएको तीन महिना बित्दा पनि आफूहरुले काम नपाएको कर्मचारीहरुको गुनासो छ ।
“पूर्वाधारबिना नगरपालिका घोषणा गरियो”, एक अधिकृतले जिविसमा हाजिर गर्दै भन्नुभयो, “हामीलाई न बस्ने ठाउँ छ, न काम गर्ने ठाउँ नै, लामो समय सरकारी सेवामा काम गरे पनि अहिले आएर सरकारले हाम्रो अपमान ग¥यो ।” सरकारले जिम्मेवारी दिए आफूहरु काम गर्न तयार रहेको बताउँदै उनीहरुले नभए अन्यत्र सरुवा गरिदिए पनि जाने बताएका छन् ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयमा पदस्थापनका लागि पटक–पटक जा“दा पनि बेवास्ता भएको गुनासो गर्दै उनीहरुले भने, “हाम्रो अपमान भयो, जिविस आउँदा पिउनले समेत हेप्न थाले, घर बस्दा छिमेकीले अनेकौँ सवाल र आशङ्का गरेर अपमान गर्न थाले, हाजिर गरेर फर्कन मन छैन, कामको जिम्मेवारी दिनुप¥यो ।”
भक्तपुर जिविसका स्थानीय विकास अधिकारी पशुपतिबाबु पुरीले विगतमा गाविस चलाएका अधिकृत तहका कर्मचारीले जिम्मेवारी नपाउँदा हाजिरमात्रै गरेर फर्कनुपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “मन्त्रालयले सचिवहरुलाई जिम्मेवारी दिएको छैन, मन्त्रालयले जिविसलाई मिल्दोजुल्दो पदमा काम लगाउन निर्देशन दिए पनि जिविसमा दरबन्दी नहुँदा समस्या छ ।”
सातामा एकदिन नभई दैनिक नै हाजिर गरेर फर्कने गरेको दाबी गर्दै उहाँले उनीहरुलाई दरबन्दी भएको स्थानमा जिम्मेवारी तोकिए सहज हुने बताउनुभयो ।
प्रतिक्रिया