आधा दर्जनभन्दा बढी गाविसमा पिउने पानीको अभाव

इनेप्लिज २०७१ चैत १० गते ४:०४ मा प्रकाशित

drinking-waterगाईघाट (उदयपुर), १० चैत । दिनानुदिन सुक्खा मौसम आएपछि उदयपुर जिल्लाको पहाडी क्षेत्रको आधा दर्जनभन्दा बढी गाविसमा अहिले पिउने पानीको अभाव भएको छ ।

गाउँघरको पिउने पानीको स्रोतका रुपमा रहेको कुवा तथा पँधेराहरु सुक्दै जान थालेपछि जिल्लाको मध्य तथा पूर्वी पहाडी गाविसहरु बाँसबोटे गाविस, बराह, लाफागाउँ, जाँते, चिलाउने, खाँबु पोखरी तथा सिद्धिपुर क्षेत्रमा अहिले गाउँको पानीको स्रोत सुक्न थालेपछि पिउने पानीको अभाव भएको स्थानीयवासीले बताएका छन् ।

लामो समयदेखि हिउँद महिनामा पिउने पानीको समस्या झेल्दै आउन परेको बाँसबोटे गाविसका जनताले यस वर्ष पनि स्थानीय कुवा तथा पँधेराहरु सुक्न थालेपछि पिउने पानी लिनका लागि दुई घन्टा तलको सुनकोसी नदीमा पानी लिन जान बाध्य हुन परेको बाँसबोटे–७ का स्थानीयवासी दलमान राई र विष्णु राईले बताउनुभयो ।

लाफा गाउँ क्षेत्रका आधा दर्जनभन्दा बढी वडाका जनताले पनि गाउँमा पानीको स्रोत कुवा तथा पँधेरा सुकेपछि पिउने पानीको सास्ती झेल्न परेको स्थानीयवासी कुमार थापाले बताउनुभयो । पिउने पानीको अभाव भएपछि लाफा गाउँका केही जनता डेढ–दुई घन्टाको दूरीमा अर्का छिमेकी गाविसमा पानी लिन जान बाध्य भएका छन् भने केही सुनकोसी नदीमा पानी बोक्न जान बाध्य हुन परेको छ ।

जिल्ला बिकास समिति तथा जिल्ला खानेपानी कार्यालयलगायत सम्बन्धित निकायले यस क्षेत्रमा दीर्घकालीन रुपमा पिउने पानीको व्यवस्थापन गर्न नसक्दा बर्सेनि पिउने पानीको सास्ती भोग्दै आउन परेको सल्ले माविका एक शिक्षक लक्ष्मी घिमिरे बताउनुहुन्छ । गाविसमा पिउने पानीको अभाव हुन थालेपछि सम्बन्धित क्षेत्रका विद्यालयका विद्यार्थी तथा शिक्षकले समेत विद्यालयमा पिउने पानीको अभाव झेल्न परेको विद्यालयका शिक्षक तथा विद्यार्थीहरु बताउँछन् ।

जिविसलगायत अन्य निकायले जिल्लाको पहाडी गाविसमा पिउने पानीका लागि विभिन्न योजना सञ्चालन गरे तापनि यी योजनाहरु प्रभावकारी हुन नसक्दा अहिले पनि जिल्लाको पहाडी गाविसका जनताले पिउने पानीको अभाव झेल्न बाध्य हुन परेको छ ।

प्रतिक्रिया