७९ जनामा स्वाइनफ्लु प्रमाणित
चितवन, १० चैत । चितवन जिल्लामा स्वाइनफ्लुका बिरामीको सङ्ख्या ह्वात्तै बढेर गएको छ । मौसम परिवर्तनसँगै बिरामीको सङ्ख्या पनि बढेर गएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालयले दिएको जानकारीअनुसार भरतपुर अस्पतालबाट नमुना सङ्कलन गरी पठाइएका २६१ वटा नमुनामध्ये ७९ मा स्वाइनफ्लु प्रमाणित भएको छ । जसमध्ये चितवनका मात्रै ६८ छन् भने नवलपरासीका सात, तनहुँ, रुपन्देही, गोर्खा र पर्साका एक–एकजना भएको जिल्ला जनस्वास्थ्य कार्यालयका कीट नियन्त्रक राम केसीले जानकारी दिनुभयो । स्वाइनफ्लु प्रमाणित भएकामध्ये ४२ महिला र ३७ पुरुष रहेका छन् ।
हालसम्म ३६७ को नमुना परीक्षणका लागि पठाइएकामा बाँकी १०६ को नतिजा आउन बाँकी रहेको केसीले बताउनुभयो । यसअघि २०४ को नमुना परीक्षण गर्दा ५३ मा स्वाइनफ्लु प्रमाणित भएकामा सोमबार आएको नतिजामा थप ५७ मध्ये २६ मा स्वाइनफ्लु प्रमाणित भएको हो ।
स्वाइनफ्लुका बिरामीको सङ्ख्या एकाएक बढेपछि जिल्ला जनस्वास्थ्य कार्यालयले जनचेतनामूलक कार्यलाई तीव्रता दिएको जनाएको छ । जिल्लाको सरकारी भरतपुर अस्पतालमा नमुना सङ्कलन गरी तीव्र परीक्षणपश्चात् शङ्का लागेका बिरामीको नमुना थप परीक्षणका लागि काठमाडाँै पठाइँदै आएको छ । चितवनमा गत वर्ष ११ र अघिल्लो वर्ष १० मा स्वाइनफ्लु प्रमाणित भएको थियो । रुघाखोकी लाग्ने, ज्यान दुख्ने, थकाइ लाग्ने लगायतका लक्षण भए तुरुन्त अस्पताल गएर परीक्षण गर्न जिल्ला जनस्वास्थ्य कार्यालयले सबैमा आग्रह गरेको छ । बिरामीको सङ्ख्या थपिएसँगै जिल्लामा उच्च सतर्कता अपनाइएको छ ।
भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विजय पौडेलले स्वाइनफ्लु प्रमाणित भएका बिरामी उपचारपछि घर फर्किसकेको बताउनुभयो । नतिजा ढिलो आउने हुँदा बिरामी उपचारपछि घर फकिइसके पनि उनीहरुलाई नतिजाको विषयमा जानकारी दिने गरेको पौडेलले बताउनुभयो । बिरामी थपिएसँगै अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई उच्च सतर्कता अपनाउन भनिएको उहाँले बताउनुभयो । दुईदेखि तीन हप्तामा बिरामी घट्ने अपेक्षा रहेको पौडेलले बताउनुभयो ।
मेरिल्याण्डमा गोली प्रहारबाट एक जनाको मृत्यु
न्यूयोर्कका गभर्नर कुमो बिरुद्ध लागेको यौन उत्पीडन समीक्षा गर्न स्वतन्त्र वकिल चयन गर्न आग्रह
राजधानी मन्दिरमा नेपाली पण्डित मोतिलाल शर्माबाट— स्वस्थानीको सॉगे (भिडियोसहित)
अमेरिकाको मिसिगनमा १४ बर्षिय किशोरीले हजुरआमाको हत्या गरेको अभियोगमा पक्राउ
एफडिएले अमेरिकामा जोन्सन एण्ड जोन्सन सहित कूल तीन खोप बनाउने प्रतिष्ठानलाई आपतकालीन प्रयोग गर्न खोपको स्वीकृत
प्रतिक्रिया