छ हजार ग्राहकमा एकजना मिटर रिडर

इनेप्लिज २०७१ चैत ८ गते ५:५७ मा प्रकाशित

timthumb.phpकञ्चनपुर, ८ चैत । छ हजार ग्राहकमा एकजना मिटर रिडर हुँदा कञ्चनपुरको झलारी– पिपलाडीका बासिन्दालाई विद्युत् महसुल बुझाउन अप्ठ्यारो परेको छ ।

नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय महेन्द्रनगरले विद्युत्को मिटर रिडिङका लागि छ हजार ग्राहकमा एकजनामात्रै मिटर रिडरको व्यवस्था गरेका कारण ग्राहकलाई अप्ठ्यारो परेको हो ।

प्रत्येक महिना विद्युत् मिटरको रिडिङ हुुनुपर्ने भए पनि कर्मचारी अभावले एकजना ग्राहकको चार महिनापछि मिटर रिडिङका लागि पालो आउने गरेको छ । चार÷चार महिनामा मिटर रिडिङ हँुदा विद्युत् कार्यालयलाई जरिवाना तिर्नुपर्ने अवस्था रहेको स्थानीय उपभोक्ता केशव ऐरले बताउनुभयो ।

“रु ८० महसुल तिर्नुपर्नेमा समयमै महसुुल नबुझाएको भन्दै प्राधिकरण शाखाले दोब्बर बढी जरिवाना लिने गरेकाले समस्यामा परेका छौँ”, उहाँले भन्नुभयो– “पुस महिनामा मिटर रिडिङ भएको थियो हालसम्म मिटर रिडिङका कर्मचारी नै आएका छैनन् ।”

प्राधिकरण कार्यालयले झलारीमा महसुल सङ्कलनका लागि महिनाको दुई पटक घुम्ती महसुुल काउन्टर राखेर महसुल बुझ्दै आए पनि मिटर समयमै रिडिङ नहुँदा अन्दाजका भरमा मिटरमा आएको अङ्कभन्दा बेग्लै अङ्क राखेर महसुल लिँदा महसुलको भार थपिँदै जाने गरेको अर्का ग्राहक जगत ऐरले बताउनुभयो ।

मिटरमा राखेको अङ्क लिएर जाँदा अन्दाजका भरमा अर्कै अङ्क चढाएको हुन्छ उहाँले भन्नुभयो– “यसले थप महसुल बुझाउनुपरेको छ ।” प्राधिकरणले नियुक्त गरेका ज्यालादारीका मिटर रिडर वीरबहादुर ऐर छ हजार ग्राहकमा एकजनामात्रै मिटर रिडर रहेकाले चार महिनामा एक ग्राहकको मिटर रिडिङ गर्ने पालो आउने गरेको बताउनुहुन्छ ।

एक दिनमा ६० जना ग्राहकको मात्रै मिटर रिडिङ गर्न सकिने भएकाले पालैपालो पु¥याउँदा समयमै मिटर रिडिङ गर्न नसकिएको उहाँले उल्लेख गर्नु भयो । प्राधिकरणको झलारी फ्युज सेवामा एकजना स्थायी, एकजना म्यादी र दुईजना ज्यालादारीका कर्मचारी कार्यरत रहेका छन् ।

प्रतिक्रिया