काजकिरियाको सत्र वर्षपछि घर फिर्ता

इनेप्लिज २०७१ चैत ८ गते ४:०६ मा प्रकाशित

जाजरकोट, ८ चैत । यहाँका एक व्यक्ति घरबाट बेपत्ता भएको १७ वर्षपछि घर फर्कंदा खुसी छाएको छ ।

नायकवाडा गाविस वडा नं २ मैनाका शरण नेपाली काजकिरिया गरेको १७ वर्षपछि घर फर्केका हुन् । विसं २०५४ मा मैना गाउँबाट माओवादीले घरबाट निकाला गरेपछि उनी बेपता भएका थिए । घरबाट निकाला भएलगत्तै बेपत्ता नेपालीलाई परिवारले सम्पर्कमा नआएपछि मृत्यु भएको ठानी नायकवाडा गाविसको कार्यालयमा मृत्यु दर्तासमेत गरी द्वन्द्वपीडितसहितको रकम लिँदै आएका थिए ।

नेपालीमाथि गाउँका महिलालाई बोक्सीको आरोप लगाउने, स्थानीय मानिसलाई विभिन्न टुनामुना गरी तर्साउने आरोप तत्कालीन माओवादी जाजरकोटले लगाएको थियो ।

उनको गाउँमा स्वागत गरिएको नायकवाडाका प्रेम शाहीले जानकारी दिनुभयो । नेपालीले अहिलेसम्म भारत गएर बसेको र देशमा शान्ति भयो भन्ने सुनेपछि बल्ल घर फर्किएको टेलिफोनमार्फत जानकारी दिनुभयो । पति घरमा पुग्दा काजकिरिया गरेको मान्छे कसरी आइपुगे भनेर पत्याउन मुस्किल भएको उनकी श्रीमती राधिकाले बताउनुभयो ।

प्रतिक्रिया