सुदूरपश्चिममा एचआइभी सङ्क्रमितको सङ्ख्या छ हजार नाघ्यो
भीमदत्तनगर, ६ चैत । सुदूरपश्चिममा एचआइभी एडस सङ्क्रमितको सङ्ख्या बर्सेनि बढ्न थालेको छ ।
पछिल्लो एक वर्षमा मात्रै सुदूरपश्चिमा ३५० एचआइभी सङ्क्रमितको सङ्ख्या थपिएको छ । क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायलको पछिल्लो तथ्याङ्कअनुसार सुदूरपश्चिमभर एचआइभी सङ्क्रमितको सङ्ख्या छ हजार २०० नाघेको छ ।
एक वर्षअघि सङ्क्रमितको सङ्ख्या पाँच हजार ९०४ थियो । यस्तै करिब छ हजारकै हाराहारीमा अझै पनि सङ्क्रमित खुल्न नसकेको एचआइभी एड्स न्यूनीकरणको क्षेत्रमा कार्यरत सङ्घसंस्थाले जनाएका छन् ।
गरिबी, अशिक्षा, चेतनाको कमी तथा स्वास्थ्यमा सहज पहुँचको कमीलगायत विभिन्न कारणले ५० प्रतिशत सङ्क्रमित समाजमा लुकेरै बसिरहेको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका दयाकृष्ण पन्तले बताउनुभयो ।
सुदूरपश्चिममा एचआइभी सङ्क्रमितको सङ्ख्या बर्सेनि बढ्नुको मुख्य कारण यस क्षेत्रका युवाहरू कामका लागि भारत गएपछि सङ्क्रमित भएर फर्कने र त्यसपछि श्रीमती र नवजात शिशुमा समेत एचआइभी देखिनु रहेको छ ।
सुदूरपश्चिममा सबैभन्दा बढी कैलाली, कञ्चनपुर, अछाम र डोटी जिल्ला एचआइभीको उच्च जोखिम रहेको छ । क्षेत्रीय स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार कैलालीमा सबैभन्दा बढी दुई हजार ९४८, अछाममा एक हजार ३९१, डोटीमा ९९५, कञ्चनपुरमा ४२०, बैतडीमा १५६ र डडेल्धुरामा १४९ जना सङ्क्रमित रहेका छन् ।
पछिल्लो एक वर्षको अवधिमा कैलालीमा १५० जना सङ्क्रमित थपिएका छन् । यस्तै पछिल्लो वर्ष बझाङमा ८२, बाजुरामा ७४ र दाुर्चलामा २३ जनामा एचआइभी सङ्क्रमण देखिएको थियो ।
निर्देशनालयका अनुसार सङ्क्रमितमध्ये करिब तीन हजारले एआरटी सेवा लिइरहेका छन् । यहाँ एड्सबाट नागरिकलाई बच्न र बचाउन सरकारी तथा गैरसरकारी संस्थाहरूको भूमिका सक्रिय रहेपनि यसको सङ्क्रमणमा कमी आएको छैन ।
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा
एनआरएनए एनसीसी अमेरिकाको ११ औं साधारणसभा सुरु, आज ज्ञान सम्मेलन
प्रतिक्रिया