गैरआवासीय नेपाली संघको प्रधान कार्यालय भवनको शिलान्यास

इनेप्लिज २०७१ चैत ४ गते २३:०४ मा प्रकाशित

NRNA Headquarters Building - Inaugaration Ceremony Photo I

सन् २०१५ मार्च ९ का दिन संघको प्रधान कार्यालय भवनको शिलान्यास कार्यक्रमका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री सुशील कोईरालाले एक समारोह वीच शिलान्यास गर्नु भयो । सो शिलान्यास कार्यक्रममा सम्माननीय सभामुख सुवास चन्द्र नेम्वाङ, माननीय वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल बहादुर थापा, पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल, संघका अध्यक्ष शेष घले, संस्थापक अध्यक्ष डा। उपेन्द्र महतो, निवर्तमान अध्यक्ष जीवा लामिछाने, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीप जंग पाण्डे तथा संघका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

शिलान्यास कार्यक्रममा सम्माननीय प्रधानमन्त्रीज्यूले अध्यक्ष लगायत पदाधिकारीहरु, सदस्यहरु र विभिन्न मुलुकबाट आउनु भएका गैरआवासीय नेपालीहरुलाई बधाई दिदै भवन निर्माणको लागि शुभकामना व्यक्तगर्नु भयो ।

यसरी नै संविधान सभाका अध्यक्ष सुवास चन्द्र नेम्वाङले पनि अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारी र विभिन्न मुलुकबाट आउनु भएका गैरआवासीय नेपालीहरुलाई बधाई दिदै भवन निर्माण कार्य सफलताका साथ सम्पन्न हुनेमा विश्वास व्यक्त गर्नु भयो । यसरी नै उहांले गैरआवासीय नेपालीहरुलाई पहिलो चरणमा परिचयपत्र प्रदान गरिएको र अब आउने संविधानमा गैरअवासीय नेपाली नागरिकता दिईने पनि जानकारी गराउनु भयो ।त्यस्तै माननीय वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल बहादुर थापाले गैरआवासीय नेपालीहरुको लगानीलाई अध्याधिक मात्रामा आकर्षित गरी नेपालको आर्थिक समृद्धिमा उपयोग गर्नको लागि नेपाल सरकारले पहल गर्ने जानकारी गराउनु भयो ।

पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले अहिलेको समसामयिक राजनैतिक विषयहरुमा प्रकाश पार्दै भवन शिलान्यास भएकोमा सबै गैरआवासीय नेपालीहरुलाई बधाई दिनु भयो ।नेपालउद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीप जंग पाण्डेले नेपालको आर्थिक समृद्धिको लागि गैरआवासीय नेपाली संघ संग सहकार्य गर्दै आएको र भविष्यमा पनि आर्थिक समृद्धीको लागि हातेमालो गर्दै अगाडी बढ्ने बताउनु भयो ।

गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले आजको समारोहका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री अस्वस्थाका वावजुत पनि यस कार्यक्रममा सहभागी हुनु भएकोमा आभार प्रकट गर्नुभयो । यसैगरी आजको कार्यक्रममा पाल्नु हुने सबै विशिष्ट अतिथिहरु, नेपाल सरकारका प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, गैरआवासीय नेपाली अभियानका अग्रजहरु, पदाधिकारी तथा सदस्यहरु, विभिन्न मुलुकबाट आउनु भएका गैरआवासीय नेपालीहरु, संचारकर्मी मित्रहरु र यस कार्यक्रममा सहयोग गर्नु हुने सबै महानुभावहरुलाई धन्यवाद व्यक्त गर्नु भयो ।

मन्तव्यकै क्रममा गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष् जीवा लामिछानेले गैरआवासीय नेपालीहरुको अभियानबारे प्रकाश पार्दै भवनको शिलान्यास हामी सबैको गौरवको विषय हो भन्नुभयो । यसरी नै संघका संस्थापक अध्यक्ष डा। उपेन्द्र महतोले अहिलेको संक्रमणकाललाई तुरुन्त अन्त्य गरी आर्थिक समृद्धि तर्फ लाग्नु पर्नै बताउँदै भवन निमार्णमा संघका अध्यक्षले खेलेको भूमिको सरहना गर्नु भयो ।

उक्तशिलान्यास कार्यक्रममा नेपालका लागि जापानी राजदूत, रसियाका राजदूतका साथै विभिन्न मुलुकहरुबाट १०० भन्दा बढी गैरआवासीय नेपालीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया