विद्यार्थी मृत्यु प्रकरण: हत्या भएको भन्दै स्थानीय आन्दोलित, अश्रुग्यास प्रहार

इनेप्लिज २०७१ चैत २ गते ११:५० मा प्रकाशित

Chitwan_district_locationरत्ननगर (चितवन), २ चैत । चितवनमा एसएलसी परीक्षाको तयारीमा रहेका एक विद्यार्थीको रहस्यमय मृत्यु भएपछि पूर्वी चितवनको खैरहनी र कठारका स्थानीय आन्दोलित भएका छन् ।

आज उनीहरुले पूर्वी चितवन खैरहनी नगरपालिका–६ मा रहेको नेपाल आदर्श शिक्षा सदनमा प्रदर्शनसमेत गरेका छन् ।

विद्यार्थीको हत्या भएको भन्दै पीडितका आफन्तले कारबाहीको माग गरी प्रदर्शन गरेका हुन् । प्रहरीले आज दिउँसो भीड नियन्त्रणका लागि चार सेल अश्रुग्यास प्रहार गरेको छ । भीड उत्तेजित भएकाले अश्रुग्यास प्रहार गरेर स्थिति सामान्य बनाएको चितवनका प्रहरी प्रमुख सहकुलबहादुर थापाले जानकारी दिनुभयो ।

पीडित पक्षको उजुरीको आधारमा अहिले स्कुल सम्बद्ध दुई जनालाई पक्राउ गरिएको थापाले जानकारी दिनुभयो । पक्राउ पर्नेमा स्थानीय स्कुलका प्रधानाध्यापक सन्तोष पौडेल र अर्का विन्दु पौडेल रहेको र उनीहरुको विषयमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक थापाले बताउनुभयो ।

उक्त विद्यालयमा अध्ययनरत विद्यार्थी गौरव बस्नेतको आइतबार रहस्यमय रुपमा मृत्यु भएको थियो ।

बस्नेत यही चैत ५ गतेदेखि सुरु हुने एसएलसी परीक्षाको तयारी गर्दै थिए । उनी पढ्ने स्कुलको होस्टेलमै मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार झुन्डिएर आत्महत्या गरेको अवस्थामा शव फेला पारिएको हो । कठार गाविसका स्थानीयवासीले भने उनको कर्तव्य गरी ज्यान गएको आरोप लगाएका छन् ।

प्रतिक्रिया