उपप्रधानमन्त्री सिंहद्वारा फोहर तत्काल व्यवस्थापन गर्न निर्देशन

इनेप्लिज २०७१ चैत १ गते ९:५७ मा प्रकाशित

prakash-man-singhकाठमाडौँ, १ चैत । उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले तत्काल काठमाडौँको फोहर व्यवस्थापन गर्न मन्त्रालयका अधिकारी एवम् काठमाडौँ महानगरपालिकाका सम्बन्धित पदाधिकारीलाई निर्देशन दिनुभएको छ ।

मन्त्रालयमा आज अधिकारीहरुलाई उपप्रधानमन्त्री सिंहले यस्तो निर्देशन दिनुभएको हो । “उपत्यकामा फोहरको डङ्गुर थुप्रिन थालेपछि उपप्रधानमन्त्री सिंहले आज काठमाडौँ र ललितपुर उपमहानगरपालिकाका कार्यकारी प्रमुखलगायत सम्बन्धित अधिकारीलाई बोलाइ यस्तो निर्देशन दिनुभएको हो”, सिंहका सहयोगी युपी लामिछानेले भन्नुभयो ।

काठमाडौँ उपत्यकाको फोहर फाल्न प्रयोग हुने सवारी साधनलाई स्थानीयवासीले नुवाकोटको सिसडोलमा शुक्रबार जलाइदिएपछि फोहर उठ्न नसकेकाले उपत्यका दुर्गन्धित बन्न पुगेको हो ।

शुक्रबार काठमाडौँबाट फोहर बोकेर सिसडोलतिर गएको निजी व्यवसायीको बा१ख ९७२६ नम्बरको गाडीले ठक्कर दिँदा एक बालकको निधन भएपछि आक्रोशित भएका स्थानीयवासीले महानगरपालिकाको गाडीसमेत जलाइदिँदा फोहर उठ्न नसकेको महानगरपालिकाले जनाएको छ ।

“महानगरपालिकाको ठूला उपकरण (हेभी इक्विपमेन्ट) हरु जलाइएकाले फोहर उठाउन नसकिएको हो, फोहर फाल्न प्रयोग हुने दुइवटा डोजर, एउटा लोडर, एउटा एस्काभेटर र एउटा माटो बोक्ने गाडी आक्रोशित व्यक्तिले जलाइदिएकाले शुक्रबारदेखि नै फोहर उठाउन सकिएको छैन, वैकल्पिक साधन नहुँदा यस्तो समस्या आएको हो”, महानगरपालिका वातावरण विभागका प्रमुख रविनमान श्रेष्ठले भन्नुभयो– “यसका लागि सडक विभागसित ठूला उपकरण माग गरिरहेका छौँ, प्राप्त गर्ने बित्तिकै फोहर उठाउन सुरु गर्छौं ।”

फोहर बोक्ने काममा प्रयोग हुने गाडी तेस्रोपटक स्थानीयवासीले जलाएको पनि उहाँले बताउनुभयो । सिसडोलमा सुरक्षाको राम्रो प्रबन्ध नगरिँदा गाडी जलेर समस्या आएकाले राम्रो सुरक्षा व्यवस्था मिलाइनुपर्ने महानगरपालिकाले जनाएको छ । “हाम्रो काम व्यवस्थापन गर्नेमात्र हो सुरक्षा त हामी गर्न सक्दैनौँ”, श्रेष्ठले भन्नुभयो ।

असुरक्षा भएको भन्दै महानगरपालिकाको फोहर व्यवस्थापनमा संलग्न १० वटा कर्मचारी सङ्गठनले पनि सुरक्षाको प्रत्याभूति नभएसम्म फोहर नउठाउने अडान लिएपछि थप समस्या आएको फोहरमैला व्यवस्थापन विभागका प्रमुख ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो ।

“काठमाडौँबाट दैनिक ५५० टन र ललितपुरबाट दैनिक २५० टन फोहर जम्मा हुने गरेको छ”, उहाँले भन्नुभयो– “तीन दिनदेखि यो सबै फोहर सडकमै रहँदा उपत्यका दुर्गन्धित बन्न पुगेको हो ।”

प्रतिक्रिया