‘काठमाडौँ र दिल्लीबीचको सम्बन्धले मात्रै नेपाल–भारत सम्बन्ध मजबुत हुन नसक्ने’

इनेप्लिज २०७१ फागुन ३० गते १६:०३ मा प्रकाशित

parmananda jhaकपिलवस्तु, ३० फागुन । उपराष्ट्रपति परमानन्द झाले नेपाल र भारतका हरेक सीमावर्ती स्थानको बीचमा मैत्री सम्बन्ध स्थापना हुनुपर्नेमा जोड दिनुभएको छ ।

काठमाडौँ र दिल्लीबीचको सम्बन्धले मात्रै समग्र नेपाल–भारत सम्बन्धलाई मजबुत पार्न नसक्ने उहाँको भनाइ थियो ।

कृष्णनगर उद्योग वाणिज्य सङ्घले कपिलवस्तुको कृष्णनगरमा आयोजना गरेको अभिनन्दन कार्यक्रममा उपराष्ट्रपति झाले नेपाल–भारतबीचको युगौंयुगदेखिको सामाजिक तथा साँस्कृतिक सम्बन्धलाई दुवै देशले मजबुत बनाउँदै सहयोग र सहकार्य गरी अघि बढ्नसके दुवै देशको हित हुने बताउनुभयो ।

मुलुक अहिले नयाँ संविधान निर्माणको क्रममा रहेको भन्दै उहाँले नयाँ संविधान जारी भएपछि मुलुकमा विकास निर्माणको गति तीव्र बन्ने बताउनुभयो ।

सो अवसरमा नेपालका लागि भारतीय राजदूत रणजित रायले नेपालको लुम्बिनी र भारतको बोधगयाबीच भगिनी सम्बन्ध कायम गरी धार्मिक पर्यटन विकास गर्न सकिनेमा जोड दिनुभयो ।

उहाँले नेपाल–भारतबीचका यातायात साधनलाई दुवै देशमा सहज ढङ्गले सञ्चालन गर्न आफूले दुवै देशबीच छलफल गरिरहेको बताउनुभयो ।

कार्यक्रममा सभासद् अभिशेष प्रताप शाह, वृजेशकुमार गुप्ता, भारत उत्तर प्रदेशका खेलकुद मन्त्री रामकरण आर्य, डुमरियागन्जका सांसद् जगदम्बिका पाललगायतको उपस्थिति रहेको थियो ।

यसैबीच, आजै उपराष्ट्रपति झाले नेपाल–भारत अवध समाजको आयोजनामा कृष्णनगरमा आयोजित नेपाल–भारत कवि सम्मेलन तथा मुसहयरा कार्यक्रमको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।

कार्यक्रम उद्घाटनपछि शनिबार राति नेपाल र भारतका तर्फबाट विभिन्न कविले कविता तथा मुसहयरा वाचन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया