सामूहिक बेल विवाह

इनेप्लिज २०७१ फागुन ३० गते ९:१६ मा प्रकाशित

IMG_8944-150x150काठमाडौँ, ३० फागुन । काठमाडौँको ऐतिहासिक वसन्तपुरको डबलीमा स–साना नानीहरु समूहमा सजिएर आज बेहुली बनेका थिए । त्यस आसपास क्षेत्र आवतजावत गर्ने बटुवा तथा विभिन्न मुलुकबाट आएका पर्यटकलाई उनीहरुले आकर्षित गरेका थिए । विवाहको प्रक्रिया बढिरहेको थियो तर त्यहाँ बेहुलाको भने उपस्थिति थिएन् ।

सधैँजसो विभिन्न राजनीतिक सभा, सम्मेलन तथा सांस्कृतिक कार्यक्रम भइरहने उक्त स्थानमा स्थानीय महादेव पार्वती पूजा व्यवस्थापन समितिले २७ कन्याको सामूहिक बेलविवाहको कार्यक्रम आयोजना गरी सोहीअनुसारका धार्मिक विधि गराएको हो ।

नेवारी समुदायमा विभिन्न कर्ममध्ये बेल विवाह पनि एक महत्वपूर्ण कर्म मानिन्छ । विशेष गरी रजस्वला हुनु अगाडि कन्याको बेलविवाह गर्ने चलन छ । सो विवाहमा सहभागी कन्याले पवित्र भई विशेष गरी नारायणलाई पूजा गर्ने तथा बेललाई कन्याको प्रतीकका रुपमा मानेर नारायणसँग कन्यादान गरिएको थियो ।

सो समारोहमा ती नानीले विधिपूर्वक पीठ, कुमारी, नारायणको पूजा गरी चामल, कपडा, पैसा सुवर्ण नारायणलाई चढाएका थिए । उक्त कार्यक्रममा विभिन्न तन्त्र विधि तथा वैदिक मन्त्रोच्चारण गरी कन्याको पुण्य तथा समृद्धिको कामना गरिएको थियो ।

विवाह भएपछि कन्या तथा अभिभावकले खानपिनलगायत कार्यमा चोखो नीति गर्नुपर्ने हुन्छ । कार्यक्रममा सहभागी कन्याका आफन्त तथा शुभेच्छुकले कन्यालाई विभिन्न फलफूल, मिठाइ तथा खानेकुरा चढाएका थिए ।

समितिका पुजारी वसन्तप्रसाद रिमालले अष्टमीका दिन नारायणको पूजालाई उत्तम मानिने हुँदा शुभसाइत हेरी आज उक्त कार्यक्रम आयोजना गरिएको बताउँदै सामूहिकरुपमा सो कार्य गर्दा सम्बन्धित अभिभावकले कम खर्चमा पूजाको विधि पूरा गर्न सक्ने हुँदा समयसमयमा यस्ता सामाजिक कार्य गरिँदै आएको जानकारी दिनुभयो । उहाँले विधिविधानअनुसार बेलविवाहको प्रक्रिया पूरा भएपछि अभिभावकले कन्यालाई घर फर्काउने प्रचलन रहेको बताउनुभयो ।

पुजारी रिमालले २०४९ सालदेखि नै सोही स्थानमा अभिभावकको माग तथा उपयुक्त अवसर पारेर यस किसिमको पूजा समयसमयमा गराउँदै आउनुभएको छ ।

प्रतिक्रिया