ग्यास उद्योग सञ्चालनको तयारीमा नेपाल प्रहरी

इनेप्लिज २०७१ फागुन ३० गते ९:१४ मा प्रकाशित

LP-gas-cilinderकाठमाडौँ, ३० फागुन । काठमाडौँ उपत्यकावासीलाई खाना पकाउने (एलपी) ग्यास सहज रुपमा उपलब्ध गराउन नेपाल प्रहरीले निकट भविष्यमै ग्यास उद्योग सञ्चालनमा ल्याउने भएको छ ।

प्रहरी कल्याण कोषद्वारा सञ्चालनमा ल्याइने उक्त प्लान्ट स्थापनाका लागि प्रहरीले यही फागुनमा नेपाल आयल निगममा प्रस्ताव पठाइसकेको छ ।

प्रस्तावमा मासिक रुपमा एक हजार ५०० मेट्रिक टन ग्यास भर्ने गरी उद्योग सञ्चालनका लागि अनुमति मागिएको छ । त्यसका लागि प्रहरीले एक लाख सिलिन्डरको व्यवस्था मिलाउने तयारीमा रहेको प्रहरी कल्याण कोषका वरिष्ठ उपरीक्षक लव विष्टले राससलाई जानकारी दिनुभयो ।

एक लाखमध्ये ५० हजार सिलिन्डर बजारमा जाने र ५० हजार सिलिन्डर डिपोमा मौज्दात रहने गरी व्यवस्था मिलाइने कोषले योजना बनाएको छ । सो उद्योग स्थापनाका लागि धादिङ र काभ्रे जिल्लामा सम्भाव्यता अध्ययन गरिएको छ ।

सो उद्योगबाट उपत्यकाका ५० हजार जनतालाई खाना पकाउने ग्यास सहजरुपमा उपलब्ध हुने विश्वास गरिएको छ । त्यसैगरी पाँचवटै विकास क्षेत्रमा थप पेट्रोल पम्पहरु स्थापना गर्ने र इन्धन ढुवानीका लागि दशवटा ट्याङ्कर खरिद गर्ने तयारीसमेत गरेको कोषद्वारा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

कल्याणकारी कोषमा रहेको रकमलाई आवश्यकताको आधारमा परिचालन गरेको खर्चलाई पारदर्शी बनाएर लैजाने व्यवस्था मिलाइएको वरिष्ठ उपरीक्षक विष्टले जानकारी दिनुभयो ।

प्रहरी सङ्गठनका बहालवाला र सेवानिवृत्त कर्मचारी एवम् तीनका आश्रित परिवार तथा अमर प्रहरी परिवारका सदस्यको स्वास्थ्य, शिक्षा तथा आर्थिक क्षेत्रलगायत अन्य विविध कल्याणकारी क्षेत्रमा समयानुकूल सहयोग उपलब्ध गराउँदै आएको कोषले जनाएको छ ।

शान्ति स्थापना कार्यमा विश्वका विभिन्न द्वन्द्वरत मुलुकमा खटिएका नेपाल प्रहरीले प्राप्त गर्ने रकममध्येबाट १० प्रतिशतको हाराहारीमा कोषका लागि योगदान हुने गर्दछ । सो कोषमा हाल रु एक अर्ब ९९ करोड ३२ लाख ५३ हजार सङ्कलन भएको छ । सो कोषबाट एक लाख चार हजार १९१ जनाले सेवा लिइरहेका छन् ।

प्रहरीको हाल सुडान र हाइटीमा दुईवटा शान्ति मिसन तैनाथ छन् भने थप तीन देशमा केही प्रहरी अधिकृत खटिँदै आएका छन् ।

प्रतिक्रिया