राजधानीको सवारी आवागमन प्रभावित

इनेप्लिज २०७१ फागुन १६ गते ७:१२ मा प्रकाशित

1714d830cd180e4f637361c56595342e_Genericकाठमाडौँ, १६ फागुन । एकीकृत नेकपा (माओवादी) नेतृत्वको ३० दलीय मोर्चाको कार्यक्रमका कारण आज राजधानीको सवारी आवागमन प्रभावित भएको छ ।

कार्यक्रमलाई लक्ष्य गरी आज बिहान विभिन्न जिल्लाबाट राजधानी आएका कार्यकर्ताका कारण काठमाडौँका कलङ्की, तीनकुने, गौशालालगायत स्थानका मुख्य चोकमा बिहान ९ बजेदेखि चाप देखिन्थ्यो । सर्वसाधारणको चापलाई लक्ष्य गरी आवतजावत व्यवस्थापनका लागि बिहानैदेखि धेरै सङ्ख्यामा ट्राफिक प्रहरी परिचालन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

राजधानीका मुख्य चोकमा मोर्चाका कार्यकर्ताको चाप रहेका कारण सवारी आवागमन प्रभावित भएको महानगरीय ट्राफिक महाशाखा ट्राफिक कन्ट्रोल कक्षका प्रहरी जवान गोविन्द गिरीले जानकारी गराउनुभयो । ट्राफिक व्यवस्थापन केही असहज भए पनि सवारी साधन सामान्य रुपमा नै चलिरहेको उहाँले जानकारी गराउनुभयो ।

शीर्ष नेताबाट सम्बोधन हुने

मोर्चाका शीर्ष नेताको अगुवाइमा राजधानीका विभिन्न स्थानबाट जुलुस निकालिएको छ । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले कमलपोखरीबाट, वरिष्ठ नेता डा बाबुराम भट्टराईले कालीमाटीबाट र उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कोटेश्वरबाट जुलुसको नेतृत्व गर्नुभएको छ । मधेसकेन्द्रित दलका शीर्ष नेताले बबरमहलमा जम्मा भई जुलुसको नेतृत्व गर्नुभएको छ । त्यस्तै ललितपुर, भक्तपुर र राजधानीका विभिन्न स्थानबाट पनि छुट्टाछुट्टै रुपमा जुलुस निकालिएको छ ।

जुलुस खुलामञ्चमा आई सभामा परिणत हुने कार्यक्रम छ जसलाई मोर्चाका शीर्ष नेताले सम्बोधन गर्नुहुने छ ।

प्रतिक्रिया