परासी, १५ फागुन । भारतसँग सीमा जोडिएको नवलपरासीमा पनि स्वाइन फ्लुका बिरामी फेला परेको छ ।
जिल्लाको दिव्यपुरीका एक बिरामीमा स्वाइन फ्लु ए, एचवान एनवानको सङ्क्रमण फेला परेको हो । चितवनको भरतपुर अस्पतालबाट नमुनाका लागि पठाएकामध्ये नवलपरासीका एक जनामा स्वाइन फ्लु देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक रामकुमार केसीले जानकारी दिनुभयो ।
अस्पतालबाट नवलपरासी र चितवनका गरी ४३ जनाको नमुनाका लागि पठाइएकामा एक जना नवलपरासीकासहित चार जनामा यो सङ्क्रमण फेला परेको थियो । अन्य तीन जना भने चितवनका रहेका छन् ।
जिल्लामा स्वाइन फ्लु भित्रिएपछि जिल्ला दैवी प्रकोप उद्धार समिति नवलपरासीले नेपाल–भारत सीमा क्षेत्रमा हेल्प डेक्स स्थापना गरेकोसमेत जनाएको छ ।
समितिको बसेको बैठकबाट जिल्लाको त्रिवेणी र महेशपुर नाकामा स्वास्थ्यकर्मी संलग्न हेल्प डेक्स स्थापना गरिएको पृथ्वीचन्द्र अस्पतालका सुपरीटेन्डेट डा नुरुल होदाले जानकारी दिनुभयो ।
जिल्लामा भारतीय सीमा नाकाबाट दिनहँु हजारौँको सङ्ख्यामा सर्वसाधारणको आवतजावत हुने गर्दछ । हेल्प डेक्समार्फत रुघाखोकी लागेकालाई उपचारमा सल्लाह दिने, माक्सको प्रयोग गर्ने, हात मिलाउने काममा कम गर्न सचेतना गराइने होदाले जानकारी दिनुभयो ।
भारतीय सीमाका क्षेत्रमा निगरानी गर्दा सङ्क्रमणबाट बच्न सकिने भएकाले जिल्लाका संयन्त्र परिचालन गरिएको हो । जिल्लाभित्रै स्वाइन फ्लुका बिरामी भेटिएपछि त्यसको सङ्क्रमणबाट बच्न जिल्लावासीलाई स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।
प्रतिक्रिया