टेलिसेन्टरलाई प्रभावकारी बनाउन पहल

इनेप्लिज २०७१ फागुन १२ गते ४:२७ मा प्रकाशित

telecenterचितवन, १२ फागुन । ग्रामीण क्षेत्रमा सञ्चालित टेलिसेन्टरलाई प्रभावकारी बनाउन जिल्ला हुलाक कार्यालय चितवनले पहल थालेको छ ।

हुलाक कार्यालयबाट सञ्चालन भएका टेलिसेन्टरहरु चितवनको भण्डारा, खैरहनी, मुग्लिन, माडी, मेघौली, रामपुरलगायत १० स्थानमा छन् । विसं २०६७ देखि सञ्चालनमा आएका टेलिसेन्टरले निजी सेवा प्रदायकसँग प्रतिस्पर्धामा उत्रन सकेको पाइँदैन । इलाका हुलाकहरु सञ्चालन रहेकै ठाउँमा चलेका टेलिसेन्टरले बढी मात्रामा गाउँ विकास समितिमा सेवा लिन आउने सेवाग्राहीलाई सघाएको छ ।

हुलाक कार्यालयका सूचना अधिकृत थानेश्वर सापकोटाले चाँडै नै टेलिसेन्टरलाई प्रभावकारी बनाउने नीति अवलम्बन गरिने बताउनुभयो । नजिकै रहेका कम्युनिकेसन तथा फोटोकपी सेन्टरमा छिटो तथा सस्तो सेवा पाएपछि उपभोक्ताले टेलिसेन्टरलाई आफ्नो रोजाइमा पार्न छाडेका छन् ।

टेलिसेन्टरमा कम्प्युटर तालिम, टेलिफोन सेवा, इमेल, इन्टरनेट सेवा, फोटोकपी, फ्याक्सलगायत काम हुने गर्दछ । टेलिसेन्टर सञ्चालनका लागि सरकारले कम बजेट छुट्याउनु, अत्यधिक विद्युत्भार कटौतीको समस्या, पुराना कम्प्युटर आदि कारणले टेलिसेन्टर सोचेअनुसार सफल हुन सकेका छैनन् ।

टेलिसेन्टरमा एक कम्प्युटर अपरेटर नासु वा खरिदार सरहका कर्मचारीले करारमा काम गरिरहेका छन् । हुलाक कार्यालय चाँडै कम्प्युटर अपरेटरलाई तालिम तथा सेवा सुविधा दिने योजनामा रहेको छ । चितवनमा १३ इलाका र २५ अतिरिक्त हुलाक सञ्चालनमा छन् ।

प्रतिक्रिया