पीडितले पाए एक लाख क्षतिपूर्ति

इनेप्लिज २०७१ फागुन १ गते ११:५८ मा प्रकाशित

group-raped-of-19-years-teenagerभक्तपुर, १ फागुन । भक्तपुर जिल्ला अदालतले जबर्जस्तीकरणीसम्बन्धी एक मुद्दामा तत्कालका लागि नेपाल सरकारबाट एक लाख रुपैयाँ क्षतिपूर्तिस्वरुप पीडितलाई बुझाएको छ ।

पीडितको तत्कालको अवस्थालाई दृष्टिगत गर्दै अदालतले कसुरदारको जायजेथाबाट सोध भर्ना हुने गरी तत्काल राहतस्वरुप एक लाख रुपैयाँ सरकारका तर्फबाट उपलब्ध गराएको हो ।

अदालतले आफ्नै झड्केलो बाबुबाट बलात्कारको सिकार भएकी २७ आर (अदालती नाम) लाई क्षतिपूर्तिस्वरुप सो रकम उपलब्ध गराएको हो । कानुनमा कसुरदारको जायजेथाबाट पीडितलाई क्षतिपूर्ति भराउने व्यवस्था भए पनि कसुरदारको जायजेथा यकिन नभएको र पीडितको अवस्था दयनीय र नाजुक भएकाले पछि सोध भर्ना हुने गरी क्षतिपूर्ति उपलब्ध गराएको जिल्ला न्यायाधीश बालेन्द्र रुपाखेतीले बताउनुभयो ।

उहाँले जबर्जस्तीकरणीसम्बन्धी मुद्दामा कसुरदारको जायजेथाबाट क्षतिपूर्ति भराउने कार्य अत्यन्त झन्झटिलो प्रक्रिया रहेकाले पीडितको अवस्थालाई ध्यानमा राखी पहिलोपटक प्रयोगका रुपमा तत्काल सरकारका तर्फबाट क्षतिपूर्ति भराई दिने फैसला गरेको बताउँदै कार्यान्वयन गर्न सफल भएकामा सन्तोष व्यक्त गर्नुभयो ।

आफ्नी १४ वर्षीय छोरीलाई झड्केलो बाबुले जबर्जस्ती करणी गर्दै गर्भवती बनाएको आरोप लगाउँदै पीडितकी आमाले प्रहरीसमक्ष जाहेरी दिएपछि प्रहरीले धादिङ ताल्ती गाविस–४ घर भई भक्तपुर कटुञ्जेबस्ने रामबहादुर (परिवर्तित नाम) लाई पक्राउ गरी मुद्दा चलाएको थियो । सो मुद्दामा अदालतले गत कात्तिक २७ गते फैसला गर्दै एक लाख रुपैयाँ क्षतिपूर्ति र आठ वर्ष कैद सजाय सुनाएको थियो ।

अदालतले क्षतिपूर्ति रकमका लागि महिला तथा बालबालिका मन्त्रालयमा लेखी पठाएकामा मन्त्रालयले लैङ्गिक हिंसा सहायता कोषबाट सो रकम उपलब्ध गराएको अदालतका स्रेस्तादार खड्गराज अधिकारीले जानकारी दिनुभयो । पीडित बालिका हाल सिविनको संरक्षणमा रहेको र उनी तीन दिनअघि मात्र सुत्केरी भएको सिविनले जनाएको छ ।

प्रतिक्रिया