छ अर्ब बढीको एमएस बिलेट आयात

इनेप्लिज २०७१ माघ २९ गते १०:४८ मा प्रकाशित

steel-market-times-tv-300x200वीरगन्ज, २९ माघ । चालु आर्थिक वर्षको पहिलो छ महिना एमएस बिलेट आयातमा उल्लेखनीय वृद्धि भएको छ ।

पर्साको सिर्सिया खल्वाटोलस्थित सुख्खा बन्दरगाह कार्यालयका अनुसार, चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु छ अर्ब छ करोड ९९ लाख मूल्यबराबरका एमएस बिलेट आयात भएको छ । करिब एक लाख १३ हजार १८ मेट्रिक टन एमएस बिलेट आयात भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा झन्डै ७९ प्रतिशतले वृद्धि भएको हो ।

गत आर्थिक वर्षको पहिलो छ महिनामा यो कार्यालयबाट रु तीन अर्ब १३ करोड ४६ लाख मूल्यबराबरको ६३ हजार ३४६ मेट्रिक टन एमएस बिलेट आयात भएको थियो । एमएस बिलेटबाट फलामे डन्डी, एङ्गल र पत्ती उत्पादन हुन्छ । सुख्खा बन्दरगाहबाट आयात हुने प्रमुख १० वस्तुमध्ये फलामे पाइपको आयात पहिलो नम्बरमा रहेको छ ।

फलामे पाइप उत्पादनमा प्रयोग हुने एचआर सिटको आयातमा समेत उल्लेखनीय वृद्धि भएको कार्यालयले जनाएको छ । सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख देवीप्रसाद भण्डारीका अनुसार गत आर्थिक वर्षको पहिलो छ महिनामा यस कार्यालयबाट रु दुई अर्ब ४४ करोड ७६ लाख मूल्यबराबरका ४४ हजार २१२ मेट्रिक टन एचआर सिटको आयात भएको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा यसमा वृद्धि भई रु दुई अर्ब ९७ करोड ६६ लाख मूल्यबराबरका ५५ हजार १० मेट्रिक टन एचआर सिट आयात भएको छ ।

वीरगन्ज भन्सार कार्यालयबाट यी दुवै कच्चा पदार्थको आयात भने घटेको छ । आयातकर्ताले नजिकै रहेको सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट यस्ता कच्चा पदार्थ ल्याउन थालेपछि वीरगन्ज भन्सार कार्यालयबाट यसको आयातमा केही कमी देखिएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामहरि अर्यालले बताउनुभयो ।

प्रमुख अर्यालका अनुसार, चालु आर्थिक वर्षको पहिलो छ महिनामा यस भन्सार कार्यालयबाट रु एक अर्ब १५ लाख मूल्यबराबरको १८ हजार ८८१ मेट्रिक टन एमएस बिलेट आयात भएको छ । गत वर्षको सोही अवधिमा यसको आयातमा सात हजार ४९२ मेट्रिक टनले कमी आएको छ । गत आर्थिक वर्षको पहिलो छ महिनामा रु एक अर्ब २८ करोड २७ लाख मूल्यबराबरको २६ हजार ३७३ मेट्रिक टन एसएस बिलेट आयात भएको थियो ।

त्यस्तै चालु आर्थिक वर्षको पहिलो छ महिनामा वीरगन्ज भन्सार कार्यालयबाट एचआर सिटको आयातमा कमी आएको छ । गत वर्षको पहिलो छ महिनामा ४१ हजार ६५८ मेट्रिक टन एचआर सिट आयात भएको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा १० हजार ६५ मेट्रिक टनले कमी भई कुल ३१ हजार ५९३ मेट्रिक टनमात्र एचआर सिट आयात भएको कार्यालयले जनाएको छ ।

सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु एक अर्ब ६३ करोड ७० लाख मूल्यबराबरका ४७ हजार १६० मेट्रिक टन पिग आइरन आयात भएको छ । सोही अवधिमा आठ हजार ५६५ मेट्रिक टन पिग आइरनमात्र आयात भएको तथ्याङ्क छ । पिग आइरन स्क्र्यापलाई गलाएर बिलेट बनाउन प्रयोग हुने भएकाले ठूलठूला फलाम उद्योगले यसको आयात गर्ने गरेको बताइएको छ ।

यसैगरी गत वर्षको पहिलो छ महिनामा वीरगन्ज नाकाबाट एक लाख ८४ हजार ३० मेट्रिक टन क्लिङ्कर आयात भएको छ । चालु आर्थिक वर्षको सोही अवधिमा यसमा २७ दशमलव १३ प्रतिशतले वृद्धि भई दुई लाख ३३ हजार ९७२ मेट्रिक टन क्लिङ्कर आयात भएको तथ्याङ्क छ । वीरगन्ज–पथलैया औद्योगिक कोरिडोरमा झन्डै दुई दर्जनको हराहारीमा फलामे डन्डी, पाइप र सिमेन्टलगायतका निर्माण सामग्री उत्पादन गर्ने उद्योगहरु सञ्चालनमा रहेका छन् । ती उद्योगलाई चाहिने कच्चा पदार्थ यसै नाकाबाट भित्र्याउने गरेका छन् ।

त्यस्तै फलामे पाइप उत्पादनका लागि प्रयोग हुने एचआर सिटको आयातमा पनि वृद्धि भएको छ । प्राप्त तथ्याङ्कअनुसार, यस नाकाबाट गत आर्थिक वर्षको पहिलो छ महिनामा रु दुई अर्ब ४४ करोड ७६ लाख मूल्यबराबरका ४४ हजार २१२ मेट्रिक टन आयात भएको छ । चालु आर्थिक वर्षको सोही अवधिमा यसमा करिब २२ प्रतिशतले वृद्धि भई रु दुई अर्ब ९७ करोड ६६ लाख मूल्यबराबरको ५५ हजार १० मेट्रिक टन एचआर सिट आयात भएको छ ।

प्रतिक्रिया